२५ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सोमबार सिंहदरबारमा बसेको तीन दलको बैठकपछि नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरोध गरेको संसद खुलाउन तयार भएपछि बैठक सुरु भएको हो ।
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो संसद ३ दलले बन्धक बनाउन मिल्छ भन्ने प्रश्न गरेका छन् । जनताका मुद्दा यथावत छाडेर नेताको स्वार्थमा संसद रोक्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाए ।
‘यो संसद ३ दलले बन्धक बनाउन मिल्छ ? उनीहरुले जे गर्यो त्यही हो ? अरु माननीय चाहिँ केही होइन ?’, लामिछानेले भने । संसदमा विभिन्न कानुन विचाराधीन अवस्थामा रहेको भन्दै उनले ती कानुनमाथि छलफल गर्न छाडेर नेताको स्वार्थमा संसदलाई बन्धक बनाइएको बताए ।
प्रतिनिधिसभा बैठक हटाउन माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसले मात्र छलफल गरेपछि उनले आपत्ति जनाएका हुन् । ‘शीर्ष नेतालाई मुड चलेन भने यो सदन रोकिन्छ ?’ लामिछानेले प्रश्न गरे, ‘जनताका मुद्दामा संसद रोकिन्छ भने रोकियोस् । नेताको स्वार्थमा संसद रोकिने कुरा हामी स्वीकार गर्दैनौं ।’
बैठकमा एमाले सांसद गोकुल बास्कोटाले एमालेका तर्फबाट धारणा राखेका छन् । त्यसपछि रास्वपा सांसद रवि लामिछानेले धारणा राखेका छन् ।





