सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभा : शोकप्रस्ताव पारित

२५ असार, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएको घटनाप्रति शोकप्रस्ताव पारित गरेको छ ।

बैठकमा स्व सिंहको आत्माको चिरशान्तिको कामनाका लागि मौनधारण पनि गरिएको थियो ।

सरकारी कामको सिलसिलामा बझाङ जाने क्रममा यही असार ५ गते बझाङकै केदारस्यु गाउँपालिकाको सडक खण्डमा भएको गाडी दुर्घटनामा परी मन्त्री सिंहको निधन भएको थियो । दुर्घटनामा परी उहाँकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि निधन भएको थियो ।

यही असार १ गतेपछि आज प्रदेशसभाको बैठक बसे पनि अर्को बैठक कहिले बस्ने भन्ने टुङ्गो लाग्न सकेको छैन । आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको सदनलाई जानकारी गराए ।

बैठक बस्ने टुङ्गो नलाग्दा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि प्रस्तुत गरेको बजेट कार्यक्रममाथि छलफल सुरु हुन सकेको छैन ।

प्रस्तुत बजेट कार्यक्रमप्रति प्रदेशसभामा सत्तापक्षकै सदस्यमा असन्तुष्टि बढेका कारण छलफल सुरु गर्न ढिलाइ भएको जनाइएको छ ।

सत्तापक्ष नेपाली कांग्रेसका प्रदेशसभा सदस्य देवानसिंह विष्टले बजेटले सबै निर्वाचन क्षेत्रलाई समान ढङ्गले हेर्नुपर्नेमा त्यसो नभई मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गरेकाले असन्तुष्टि बढेको बताए ।