सुदूरपश्चिम

‘पर्याप्त आलु उत्पादनले घर छोड्न मन लागेन’

२८ असार, बझाङ । बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उनले तरकारी खेती रोजेका हुन् ।

बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन । छोड्नुपर्ने अवस्था पनि छैन । पाँच कट्टामा बीउ रोपेका बोहरालाई आलु बेचेर जीविकोपार्जन हुने देखेपछि अब उहाँको रोजाइ तरकारी खेती नै भएको छ ।

“दुई सुप्पो मकै फल्ने बारीमा यसपटक चार बोरा आलु फल्यो । गत साता रु ३४ हजारको आलु बिक्री गरे । अझै १० क्विन्टल जति आलु खन्न बाँकी छ”, बोहराले भने। उनी यस वर्ष मात्र लामो समयसम्म घरमा बसेका हुन् ।

वर्षमा झण्डै आठ महिना समय बोहराको भारतमै मजदुरी गरेर वित्थ्यो । उसबाटै उनको परिवारको खर्च चल्थ्यो । बोहराले भने, “एक वर्षयता मजदुरी गर्न भारत गएको छैन । आलु फल्ने यामपछि अर्को तरकारी लगाउनुपर्ला सोचेको छु । अब मजदुरी गर्न भारत जाँदैन ।”

कृषि ज्ञान केन्द्रले बीउदेखि बजारीकरणको सहयोग गरेपछि आलु उत्पादनमा जोडबल गरेको स्थानीय रमादेवी बोहराले बताए। “हामीलाई आलु खेतीबारे खासै ज्ञान थिएन । कहिलेकाहीँ तरकारी खानका लागि मात्र लगायौँ, बिक्री गर्ने उद्देश्यले भने लगाएका होइनौँ । यसरी व्यावसायिकरूपमा आलु खेती गरेको पहिलो पटक हो । सुरूआतमै फाइदा भयो ।”

बोहराका अनुसार रातो आलु एउटै बोटमा २० दानासम्म फलेको छ । हालसम्म रु २७ हजारको आलु बिक्री गरिसकेको उनले सुनाए। किशोरावस्थामै पुरुष विद्यालय छोडेर भारतमा मजदुरी गर्न जाने गरेका छन् । रमादेवीका छोरा किरण पनि मजदुरी गर्न भारतको पिथौरागढ जाने तयारीमा थिए।

रमादेवीले भने, “अब गाउँमै तरकारी खेतीमै मिहेनत गर्न लगाउँछु । यसबाटै जिन्दगी चल्छ जस्तो लागेको छ । पढाइ पनि गर्छ, भारत पठाउँदिन ।”

राजमार्ग नजिकका कृषक तरकारी खेतीतर्फ

मनमती बोहरा ७१ वर्षकी भए। उनलाई अहिलेको जसरी आनन्दपुरमा यसरी आलु फलेको सम्झना छैन । “एकपटक श्रीमान्ले बाली फेर्नुप¥यो भनेर आलु र टमाटर लगाउनुभएको थियो तर, त्यो बेला बढी मल र निरन्तर पानीका कारण खासै उब्जनी भएन ।” त्यसपछि कहिल्यै आलु नलगाएको उनले बताए।

यसपटक भने एकै गह्राबाट ११ क्विन्टल आलु बेचेको मनमतीले बताए। “हाम्रो सबै बारी गरेर तीन क्विन्टल बराबर मकै फल्थ्यो । आफूले खाने, वस्तुभाउलाई खुवाउनमै बराबर हुन्थ्यो । यसपटक भने नसोचेकै आलु उत्पादन भयो । आलु निकाल्न, सुकाउन घरमा सबैलाई दौडधुप भइरहेको छ ।” उनले भने।

धवलसिंह बोहरा अहिले दोस्रो चरणमा आलु बजारीकरण गर्नका लागि तयारी गरिरहेका छन् । “पहिलो चरणमा लिएको आलु कैलालीसम्म पुग्यो”, उनले भने, “फेरि आलु निकालेर सुकाइरहेका छौँ । अब दोस्रो साता ट्रकमा नै तराईसम्म लिने तयारी भइरहेको छ ।”

धवलसिंहको परिवारमा अहिले पाँच जना छन्। पाँचै जना आलुकै पछाडि लागिरहेका छन् । दुई वर्ष अगाडिदेखि नै नेपाल आउनुभएका धवलसिंहलाई यसपटक भने व्यावसायिक सफलता मिलेको छ । “वर्षभरि काम गर्दा रु एक हजार पनि गाउँमा नकमाउने हामी अहिले निर्धक्क छौँ । समयअनुसारको व्यवसायबाट लाभ लिन सकिने रहेछ भन्ने सिकाइ पनि भयो ।” उनले भने।

यता कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले कृषकलाई व्यावसायिक बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गरिरहेको बताए। “कृषकलाई व्यवसायमा प्रेरित गर्नका लागि बीउदेखि बजारसम्मको काम गरिरहेका छौँ”, विष्टले भने, “काम गर्ने कृषकका लागि हामी रात दिन नभनी सहयोग गर्छौं ।” आनन्दपुरमा पनि आफूले गरेको मेहेनतअनुसार सिचाई, मलको अभाव हुँदासमेत निकै राम्रो फलेको उनले बताए। “कृषकले इमानदारिताका साथ काम गरेमा उनीहरूको भविष्य कृषिमै सुनिश्चित हुन्छ ।” उनले भने।

जिल्लामा विभिन्न प्रकारका हाइब्रिड खाले तरकारी, फलफूल अन्य बालीको परीक्षणसमेत भइरहेको उहाँले बताउनुभयो । उनले भने, “हामीले चैते धानको पनि सफल परीक्षण गरिसकेका छौँ । ड्राइगन खेती भरखर सुरू गरेका छौँ । नतिजा सफलोन्मुखतिरै देखिएको छ ।”

नेपालमा मजदुरी गर्न पनि पाइन्न

आनन्दपुरकै सीताराम तीन वर्ष अगाडि सडकमा ग्याविन जाली भर्ने काम गर्थे। तीन महिनासम्म लगातार सडकमा काम गरेको ज्याला एक वर्षसम्म पनि नपाएपछि उनी पिथौरागढ हानिए । ठेकेदारले भोलि भोलि भन्दै हैरानी पारेपछि परिवार पाल्नै समस्या भयो । विस्तारै ठेकेदारले फोन नउठाउने, अफ गर्ने भएपछि साउनको महिना सीताराम पिथौरा गए।

काम गर्ने अवसर हुँदाहुँदै पनि मजदुर ठगिने हुँदा नेपालमा बस्ने समस्या हुने गरेको उनले बताए। उनले भने, “हामी दैनिक ज्यालादारी गरेर परिवार पाल्ने मान्छे । काम गराएर पैसा नदिएपछि त गाउँघरमा कसरी बस्नु १” काम गरेको पैसा समयमै पाउनुको सट्टा उल्टै ‘दश ढोग, अठार सलाम’ गर्नुपर्ने उनले बतए। “पिथौरागढमा भने काम गरेपछि जुन बेला पनि पैसा पाउँछ”, उनले भने, “पिथौरामा सानो ठूलो काम गरेपछि उसैबेला पैसा पाइन्छ । पैसाको खाँचो पनि हुँदैन । काम भने शक्तिअनुसारकै हुन्छ ।”