७ साउन, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) बर्दघाट नगरपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । निः शुल्क उपचारका लागि नगरपालिकाकाभित्रका दुई सामुदायिक अस्पतालमा व्यवस्था मिलाएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए।
“अपाङ्गता भएकालाई स्वास्थ्योपचारमा सहज होस् भनेर निः शुल्क उपचारको सुरुआत गरेका हौँ ”, उनले भने, “यसबाट उनीहरूलाई सहज हुनेछ भन्ने विश्वास लिएको छु । ”
नगर मातहतका अस्पतालले दिन भ्याउने सबै सेवा सुविधा निःशुल्क दिइनुका साथै अन्यत्र उपचार गर्न जानुपर्ने एम्बुलेन्स सेवासमेत छुट दिइने स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए। यो सुविधा २०८० साल साउनदेखि लागू गरिएको उनले बताए। सामुदायिक अपाङ्ग सेवा केन्द्रका अध्यक्ष रमेश श्रेष्ठले अपाङ्गता भएकालाई यसले थोरै भए पनि राहत पुर्याउने जनाउँदै नगरको निर्णय स्वागतयोग्य छ भन्नुभयो ।
विशेषगरी निलो र सेतो परिचयपत्र भएका भत्ता नपाउने अपाङ्गता भएकालाई यसले राहत मिल्ने उनको भनाइ छ । नगरपालिकाभित्र सात सय ७९ अपाङ्गता भएका व्यक्तिमध्ये चार सय ८७ जनाले परिचयपत्र लिएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।
पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका
नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) सुनवल र बर्दघाट नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिकाका भएका छन् । जनस्वास्थ्य तथा पोषणमा समेटिएको ८८ सूचकमध्ये ४४ प्राथमिक स्वास्थ्य सेवामध्ये समग्रमा सुरक्षित मातृत्वतर्फ आवश्यक सूचक पूरा भएको तथ्याङ्कका आधारमा दुवै नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएका हुन् ।
बर्दघाटमा १६ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र र एक अस्पताल रहेको छ । बर्दघाट नगरप्रमुख श्रेष्ठले केही वर्षभित्रमै सबै आधारभूत स्वास्थ्य केन्द्रमा ‘बर्थिङ सेन्टर’को स्थापना र नगरवासीलाई प्रभावकारी स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने बताए। नगर मातहतका स्वास्थ्य संस्थामा सेवा विस्तार गर्दै लगिने उनले जानकारी समेत दिए।
सुनवल नगरप्रमुख विमला अर्यालले सुनवल नगरपालिकाले ‘बार्थिड सेन्टर’ स्थापना गरेको र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको बताए। तेह्रवटै वडाबाट आधारभूत स्वास्थ्य सस्थबाट गर्भवतीलाई गर्भावस्थादेखि नै जाँचमा विशेष सहयोग गर्दै आएको उनले बताए।