स्वास्थ्य

सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत

११ साउन, महेन्द्रनगर (धनुषा) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानप्रदत्त आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीमा निर्मित ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र’ बिहीबार प्रदेश सरकारलाई हस्तान्तरण गर्दै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थानुसार नागरिकलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने सरकारको नीतिअनुसार मन्त्रालयले काम गरिरहेको स्पष्ट पारे । उनले मन्त्रालयले छ महिनाभित्र नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान हुनेगरी काम गरिरहेको दावी गरे ।

“स्वास्थ्य मन्त्रालयले पहिलो पटक निजी तथा सरकारी अस्पतालमा गरी तीन हजार २५ शय्या गरिब तथा विपन्न वर्गका लागि निःशुल्क छुट्याउने काम गरिसकेको छ”, उनले भने, “अस्पतालले १० प्रतिशत शय्या निःशुल्क छुट्याउने नियम कडाइपूर्वक पालना गराइने छ ।”

मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रको विकासका लागि पनि सरकारले काम गरिहेको भन्दै मन्त्री बस्नेतले हाल नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा किड्नी प्रत्यारोपण सेवा सुरु गर्न र जनकपुरधाममा मुटुसम्बन्धी रोगका सबै प्रकारका उपचारका लागि गङ्गालाल हृदय रोग केन्द्रको शाखालाई बलियो बनाउने काम भएको जानकारी दिए ।

कार्यक्रममा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि जनसङ्ख्याका अधारमा बजेट विनियोजन गनुपर्ने आवश्यकता औँल्याए ।