१२ साउन, काठमाडौं । सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा ३० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले घाँटीमा समस्या भएर उपचार गर्न पुगेका ८ महिनाका बालक आलोक बराललाई गलत सुइ दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन आदेश दिइएको हो ।
पीडित पक्षले अर्कै बालकका लागि तयार पारिएको ‘मेनेन्जाइटिस मलेरिया’को खोप आफ्नो बच्चामा लगाउँदा उनको स्वास्थ्यमा क्षति पुगेको भन्दै मुद्दा हालेको थियो ।
०७३ साल असार २२ गते ती बालकलाई उपचारका लागि कान्ति अस्पतालको इमर्जेन्सीमा लगिएको थियो । त्यही राति नर्सले अर्कै बालकका लागि तयारी पारिएको ‘मेनेन्जाइटिस मलेरिया’को खोप आलोकलाई लगाइएको थियो । त्यसपछि बच्चामा सास फर्न गाह्रो हुने, दिसा, पिसाब चुहिने जस्ता लक्षण देखिएको थियो ।