२० साउन, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेशचन्दले बाख्रापालन सुरु गरेका छन् । उनले भारतबाट उन्नत जातका बाख्रा ल्याएर व्यवसाय सुरु गरेका हुन् ।
ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहेका चन्दले थालेको बाख्रापालन सबैलाई आकर्षित गर्ने लोभलाग्दो किसिमको छ । व्यवसायका लागि रू पाँच करोड लगानी भइसकेको चन्दले बताए । उनका अनुसार फार्ममा हाल एक सय ५० उन्नत जातका बाख्रा छन् ।
भारतको राजस्थानबाट ल्याइएका सिरोही, तोतापरी, अजमेरी, बोयर, गुज्री जातका बाख्रा फार्ममा रहेका चन्दले जानकारी दिए । सिरोही जातको ‘भीम’ नाम गरेको बोकासमेत फार्ममा रहेको उनले बताए । उक्त बोकाको तौल एक सय ८० किलो छ ।
चन्दले भने, “पाँच-छ उन्नत जातका बाख्रा फार्ममा छन् । उन्नत जातका बाख्रा छिटो बढ्ने र फाइदा पनि राम्रो हुने भएकाले स्थानीय जातभन्दा उन्नत जात छनोट गरिएको हो ।” उनले गत वर्ष ‘ग्वाल्लेक एग्रो फार्म प्रालि’स्थापना गरी स्थानीय खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेका थिए ।
“बाख्रा पाल्नका लागि चार तलाको पक्की घर निर्माण गरेर गत वर्षदेखि खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेको थिए”, चन्दले भने, “अहिले सिरोही, तोतापरीलगायत पाँच÷छ उन्नत जातका गरी एक सय ५० बाख्रा छन् ।”