२२ साउन, महोत्तरी । लामो समयसम्म वर्षा नभएर पानीका मुहान सुक्दै गएपछि चिन्तित बनेका यहाँका स्थानीय आइतबार रातिको वर्षाले राहत महसुस भएको बताउँछन् ।
वर्षा नहुँदा खानेपानीका मुहान सुक्नुका साथै खेतीपातीका लागि सिँचाइको अभाव व्यहोर्दै आएका स्थानीयलाई गएरातिको वर्षाले मुहान रसाउने आशा जगाएको छ । पछिल्लो पटकको वर्षाले पानी नभएर पहेंँलिँदै गएका धानको रोपो, फलपूmलका बोटबिरुवा, तरकारी, उखु, मकै, कोदोलगायत अन्नबालीलाई राहत मिलेको किसान बताउँछन् ।
“गएरातिको वर्षाले इनार, चापाकल र बोरिङसहितका पानीका मुहान अब रसाउने आश जागेको छ” भङ्गाहाका किसान दीपबहादुर फुँयालले भने, “अब खानेपानीको सङ्कट नबढ्ला ।” आइतबार लामो समयसम्म पानी परेकाले माटोको भित्री सतहसम्म चिस्यान पुगेको उनले बताए । जिल्लाको सुदूरउत्तरवर्ती चुरे र यसका शृङ्खलाबाट निस्कने नदी, खोल्साखोल्सी र झोराहरुमा अब पानी रसाउने सम्भावना बढे्को उनको भनाइ थियो ।
“बर्दिबासका १० र गौशालाका १० भन्दा बढी बस्तीमा जडित खानेपानीका मुहान यिनै नदी, खोल्साखोल्सी र झोरा हुन्”, फुँयालले भने, “लामो खडेरीले पानीका मुहान सुक्दैजाँदा खानेपानीको हाहाकार बढ्दै गएको थियो ।”
साउन तेस्रो सातामा परेको पानीले मुहानमा राम्ररी फुट्ने र भण्डारण ट्याङ्कीमा पानीको अभाव नहुने विश्वास बढेको बर्दिबासको साना, सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव उदयबहादुर भण्डारीले बताए । “पानी नपरेपछि करिब तीन महिना पानीको समस्या भयो । भण्डारण ट्याङ्की रित्तिने अवस्थामा पुगेको थियो”, उनले भने, “वर्षा भएसँगै नदी, खोल्साखोल्सी र झोरामा पानी राम्ररी फुट्ने (रसाउने, बढ्ने) विश्वास बढे्को छ ।”
यस वर्ष जिल्लाका सुदूरउत्तरवर्ती र मध्यउत्तरवर्ती भेगमा मात्र नभइ मध्य र दक्षिणवर्ती भेगमा पनि खानेपानीको समस्या भएको जलेश्वर–२ का वडाअध्यक्ष वरुण दाहालले बताए । जलेश्वरमा केही दिन चापाकल सुक्दा ट्याङ्करबाट घरघरै खानेपानी वितरण गरिएको उनले बताए ।