बाग्मती

निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो भक्तपुर–नगरकोट सडक

२३ साउन, भादगाउँ । भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र सरोकारवालाहरुबीच समन्वय र सहकार्य हुन नसक्दा सडक ठाउँठाउँमा भत्किन थालेको हो ।

सडक निर्माण सम्पन्न भएका केही स्थानमा निर्माण व्यवसायी, आयोजना, स्थानीय उद्योग, जग्गा प्लटिङ व्यवसायी र स्थानीयवासीले लापरबाही गर्दा उक्त सडक निर्माण सम्पन्न नहुँदै विभिन्न स्थानमा भूक्षय भई सडक भत्किन थालेको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सर्वदलीय राजनीतिक संयन्त्र, सडक निर्माण आयोजना, निर्माण व्यवसायीका प्रतिनिधि र सञ्चारकर्मीहरुको संयुक्त टोलीले गरेको सडक अनुगमनका क्रममा नेपाली सेनाको खरीपाटी ब्यारेक नजिकको घुमाउने, चाँगुनारायण नगरपालिका–६ बास्तोला गाउँ युटर्न रेष्टुरेन्ट नजिक, बाघमारा, नगरकोट बसपार्क नजिकलगायत स्थानमा सडक भत्किन र भासिन थालेको भेटिएको हो ।

खरिपाटी सेनाको ब्यारेक नजिक शिवशिखर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको वेभरेज र खाद्य उद्योगबाट निस्किएको पानी लापरबाहीपूर्वक सडकमा छोड्दा उक्त स्थानमा भूक्षयले सडक भासिन थालेको छ । उक्त उद्योगबाट निस्किएको पानीलाई ड्रेन बनाई कटाउने प्रयास गर्दा नेपाली सेनाले आफ्नो जग्गामा सडकको पानीको निकास लिन नसक्ने भन्दै रोक लगाएपछि उक्त स्थानमा भूक्षय हुन थालेको भक्तपुर–नगरकोट–सिपाघाट-बालाजु–त्रिशूली सडक योजनाका सब–इन्जिनियर सुनिता धुकुछुले बताए ।

“पटक पटक सेनासँग पानीको निकासका लागि आग्रह गर्दा मान्नुभएन । उद्योगलाई पनि पटक पटक पानी नपठाउन आग्रह गर्दासमेत अटेर गरेको छ,” उनले भने ।

यसैगरी नगरकोट बास्तोला गाउँ युटर्न रेष्टुरेन्ट नजिक नगरकोट सडकको माथिल्लो भिरालो डाँडामा जग्गा प्लटिङ गरेको र सो प्लटिङबाट खस्न थालेको पहिरोले नगरकोट सडकलाई क्षति गर्न थालेको छ । वर्षा हुने बित्तिकै प्लटिङबाट भेल बगेर आउने र सो भेलले लेदोसहितको माटो बगेर सडक अवरुद्ध पार्ने गरेको छ । सडकको माथिबाट बगेर आउने लेदोले बाटोको मुनिको भागमा भूक्षय हुन थालेको छ । प्लटिङबाट बगेर आउने माटोले सडक दुर्घटनाको समेत जोखिम बढेको छ ।

अत्यन्त भिरालो जग्गामा भएको प्लटिङ अवैध भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । प्लटिङ भइरहेको जानकारी आउनासाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई काम रोक्न निर्देशन दिइएको जानकारी दिनुभयो । अहिले प्लटिङको काम रोकिएको अवस्था छ ।

यस्तै नगरकोट बाघमारामा नगरपालिकाले नै सहायक सडक निर्माण क्रममा सडकको ड्रेनलाई व्यवस्थित नगर्दा उक्त ड्रेनको पानी मुख्य सडकमा आउने गरेको र सो पानीले सडकको अर्को किनारमा भूक्षय हुन थालेको छ । भूक्षयले सडक चर्किनका साथै भासिन थालेको र कुनै पनि बेला ठूलो भूक्षय गई बाटो अवरुद्धसमेत हुन सक्ने देखिएको छ ।

नगरकोटकै एक स्थानमा स्थानीयबासीले घर जाने सहायक मार्ग बनाउने क्रममा नगरकोट सडकको ड्रेन नै पुरीदिँदा सडकको अर्को किनारमा ठूलो भूक्षय गएको छ । आयोजनाले हाल सो स्थानमा सेरवाल लगाएर रोकथाम गरिसकेको छ । तर पनि ड्रेनको निकास नहुँदा जोखिम रहेको छ ।

नगरकोट बसपार्क नजिक एक व्यवसायीले आफ्नो जग्गामा जाने सहायक मार्ग निर्माण गर्दा नगरकोट सडकको ड्रेन पुरीदिँदा अर्को किनारमा भूक्षय भई सडक भत्किन थालेको छ ।

अनुगमनमा सहभागीहरुले सडक निर्माणका क्रममा आयोजना र निर्माण व्यवसायीले स्थानीय पालिका, प्रशासन र स्थानीय जनतासँग सहकार्य र समन्वय नगरेको पाइएको प्रतिक्रिया दिए । अलिकति मात्र समन्वय र सहकार्य भएको भए निर्माण सम्पन्न नहुँदै सडक भत्किने समस्या आउन नसक्ने निष्कर्ष अनुगमनकर्ताहरुको थियो ।