६ भदौ, लुम्बिनी । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानवताभन्दा ठूलो धर्म केही नभएको बताएका छन् । उनले मानवताका लागि गरिएका अभियानले ठूलो धर्म कमाएको भन्दै मानव सेवामा लाग्ने जो कोही पनि सबैको लागि प्रिय पात्र बन्ने बताए ।
नेपाल मानव सेवा आश्रमको आयोजनामा आजदेखि रूपन्देहीमा सुरु भएको सप्ताहव्यापी १३औँ ज्ञान हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रवर्द्धनको महाअभियानलाई सबैले साथ दिनुपर्ने बताए ।
वर्तमान समयमा दुःखी, गरिब, सहयोगको अपेक्षा गरेका व्यक्तिको सहयोग गर्नुनै मुख्य धर्म भएको भन्दै उनले यसका लागि योजनाका साथ लाग्न सबै तहका सरकारलाई आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईंले मानव भएपछि मानवको सेवा गर्नुनै सबैभन्दा ठूलो पुण्यको काम भएको बताए ।
सिद्धार्थनर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगर नगरपालिकाले मानव सेवा आश्रमलाई प्रदान गर्दै आएको सहयोग अर्को वर्ष अझ बढाउँदै लैजाने बताए ।
नेपाल मानवसेवा आश्रममका संरक्षक डा गोविन्द टण्डनले मानवता प्रवर्द्धन अभियान नेपालबाट सुरु भएर अब विश्वभर नै फैलिने बताए । मानवसेवा आश्रम नेपालका अध्यक्ष तथा अभियन्ता रामजी अधिकारीले सबैको साथ र सहयोग भए नेपाल विसं २०८२ भित्रमा सहयोगापेक्षी मानव मुक्त सडक घोषणा हुने बताए ।
देशका ३६ वटा जिल्लाबाट एक सय पाँच जना युवा युवतीको सहभागिता रहेको कार्यक्रम सात दिनसम्म चल्ने मानवसेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले जानकारी दिए ।