७ भदौ, बागलुङ । शरीरमा तागत घट्दै गए पनि बालकृष्ण अर्यालको कृषि कर्मप्रतिको जाँगर घटेको छैन ।
७६ वर्षीय उहाँको पहिचान शिरमा ढाका टोपी, शरीरमा पुराना कोट, पाइन्ट र कमिज हो । घर्कदो उमेरले चाउरिँदै गएको अनुहार, घट्दो हातपाखुराका तागत । उहाँको घर छेउको बारीमा पुग्दा लटरम्म फलेका ‘ड्रागन फ्रुट्स’ देखिन्छन् । दुई वर्ष अगाडि लगाएको बिरुवाले अहिले फल दिन थालेपछि उनी दङ्ग छन्। बिहान सबेरैदेखि राति अबेरसम्म बारीमा बिताउने उनलाई खान लाउनको कुनै केही समस्या छैन ।
जेठो छोराबुहारी अमेरिका र कान्छो छोराबुहारी अष्ट्रेलिया बस्छन् । उनी आफैँ पनि पूर्व शिक्षक छन्। सानैदेखि नयाँ प्रकारका फलफूल खेतीमा रुचि राख्ने उनले ३८ वर्ष शिक्षण पेसा गरे। पन्ध्र वर्ष अगाडि अवकाश भएका उनले दुई वर्ष अगाडिदेखि व्यवसायिक ड्रागन फ्रुट्स खेती गर्न थालेका हुन् । दुई छोरा र दुई छोरीले विवाह गरेर आ–आफ्नो गर्न थालेपछि अहिले घरमा अर्याल श्रीमतीसँग मात्र छन्। बूढेसकालमा सुखले आराम गरेरै खान्छु भने पनि उनलाई सहजै पुग्छ तर उनी बाचुञ्जेल काम गर्नुपर्ने मान्यता राख्छन्।
बागलुङको बडिगाड गाउँपालिका–५ का अर्यालले गाउँभन्दा पारि गुल्मीको मुसिकोट नगरपालिका–१ मा ड्रागन फ्रुट्स खेती गरेका छन् । उनको मुसिकोटमा पनि घर छ । गाउँमा दिनप्रति दिन घर रित्तिदैछन् । युवा शक्ति विदेश पलायन भइरहेका छन् भने, गाउँमा भएका बालबालिका र वृद्धवृद्धा पनि छोराछोरीले बजार लगेर राख्न थाले । खेतीयोग्य जमिन वनमाराले ढाक्न थाल्यो । कुनै बेला गरी खाने ठाउँ नहुँदा भोकभोकै बस्ने स्थानीय अहिले उर्वर भूमि बाँझो छोडेर विदेश तथा सहर पसेपछि उनीहरुलाई गाउँमा कसरी फर्काउने भन्ने चिन्ताले अचेल अर्यालाई सताइरहेको छ ।
विदेश जाने युवा र बजार पस्ने स्थानीयलाई गाउँमा रोक्न आफूले व्यावसायिक रुपमा ड्रागन खेती गर्न थालेको बालकृष्ण बताउँछन्। गाउँका खेतीयोग्य जमिनको सदुपयो गरि उत्पादन वृद्धि गरी गाउँमै लाखौँ कमाउने वातावरण सिर्जना गर्ने उनको भनाइ छ । गाउँघरमा आम्दानीका धेरै स्रोत हुँदाहुँदै पनि युक्त शक्ति विदेश पस्नु गलत भएको अर्याल बताउँछन्। पछिल्लो समय आधुनिक प्रविधिका कारण कृषिलाई सहज बनाएको र उत्पादन बढाउन टेवा पु¥याएको भन्दै युवालाई त्यसतर्फ आकर्षित गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।
“उमेरले केही फरक पार्दैन, शरीरमा बल छ, काम गर्ने सिप छ, मलाई यतिकै बसेर खान पनि पुग्छ तर म बाजुञ्जेल सक्रिय जीवन बिताउनुपर्छ भन्ने लाग्छ, अहिले गाउँका सबै घर बारी खाली हुन थाले, अब मान्छेलाई कसरी गाउँमा टिकाउने होला रु,” उनले भने, “मैले अब गाउँकालाई बजार जानबाट रोक्नुपर्छ, यहीँ मैले लाखौँ कमाए भने, अरुले पनि त्यो सिकेर गाउँमै रोक्न सकिन्छ कि भन्ने लागेको छ, अरुलाई पनि खेती गरी आम्दानी राम्रो हुन्छ भनेर सिकाएको छु ।”