मनोरञ्जन

अभिनेता ताम्राकारको आर्यघाटमा अन्त्येष्टि

१० भदौ, काठमाडौँ । कलाकार तथा जादुगर सानु ताम्राकारको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आर्यघाटमा केही समय राखिएको थियो ।

नेपाल चलचित्र कलाकार सङ्घको संयोजनमा भएको श्रद्धाञ्जलि कार्यक्रममा उहाँको पार्थिव शरीरलाई कलाकार, आफन्त, शुभेच्छुकलगायतले श्रद्धाञ्जलि दिएका थिए । कलाकार ताम्राकारको ७४ वर्षको उमेरमा उपचारकै क्रममा शनिबार निधन भएको थियो । कलाकार सङ्घका पूर्वकार्यवाहक अध्यक्षसमेत रहिसकेका कलाकार ताम्राकारलाई कलाकार सङ्घको झण्डा ओढाएर श्रद्धाञ्जलि दिइएको थियो ।

सङ्घका अध्यक्ष मोहन निरौलाले कलाकार ताम्राकारको निधनबाट आफू मर्माहत भएको बताए । मिर्गौलासम्बन्धी रोगले पीडित कलाकार ताम्राकारले गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि पुत्रवियोगसमेत खेपेका थिए ।

उनलाई अन्तिम श्रद्धाञ्जलि दिन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, केपी पाठक, नीर शाह, रवि गिरी, वसुन्धरा भुसाललगायतका कलाकर्मी आर्यघाट पुगेका थिए ।