शिक्षा

विश्व संस्कृत दिवसः संस्कृत विशेष सम्मान ढुङ्गेल र शोधवृत्ति आकाश नीलमलाई प्रदान

१४ भदौं, काठमाडौं । छैटौँ विश्व संस्कृत दिवसका अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई विशेष सम्मान गरिएको छ ।

छैटौँ विश्व संस्कृत दिवस कार्यपरिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँलाई सम्मानित गरिएको हो । व्याकरण, न्याय, वेदान्त, साहित्य, ज्योतिष, साङ्ख्ययोग र पुराण इतिहास गरी सात विषयमा आचार्य (स्नातकोत्तर) गर्नुभएका आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेलले विसं २०५७ देखि २०६१ सम्म तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय (हालको नेपाल संस्कृत विश्वविद्यालय)को उपकुलपति भई संस्कृत क्षेत्रको सेवा गरेका थिए। लामो समय संस्कृत, सनातन धर्म, संस्कृतिको क्षेत्रमा योगदान दिएका उनलाई सम्मान गरिएको हो ।

नेपाल र भारतमा गरी एक सयभन्दा बढी शोधार्थीको अनुसन्धानमा शोधनिर्देशकको भूमिकामा रहेर संस्कृत विद्या साधनामा विशिष्ट योगदान गर्नुभएका आचार्य ढुङ्गेलको योगदानको उच्च मूल्याङ्कन गरी उक्त सम्मान गरिएको विश्व संस्कृत दिवसका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले बताए ।

छैटौँ विश्व संस्कृत दिवसका अवसरमा रु एक लाख राशिको आरुणि संस्कृत शोधवृत्ति उपप्राध्यापक गोविन्द घिमिरे (आकाश नीलम)लाई आजै प्रदान गरिएको छ । जरो किलो महाअभियानले संस्कृत माध्यमबाट प्राचीन वा आधुनिक विषयवस्तुबारे अनुसन्धानका लागि युवा पुस्ताका संस्कृतज्ञलाई शोधवृत्ति प्रदान गर्दै आएको हो । गत वर्ष विशेष सम्मान प्रा डा दीर्घराज घिमिरे र आरुणि संस्कृत शोधवृत्ति उपप्राध्यापक रोहिणीराज तिमिल्सिनालाई प्रदान गरिएको थियो ।

प्रत्येक वर्ष तिथिअनुसार श्रावण शुक्ल पूर्णिमा अर्थात् ऋषितर्पणीका दिनमा मनाइने विश्व संस्कृत दिवसको प्रारम्भ जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि सुरु भएको हो । यसै अवसरमा पद्मकन्या क्याम्पस संस्कृत, पत्रकारिता तथा हिन्दी विभागले पनि कार्यक्रम आयोजना गरेको उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले राससलाई जानकारी दिनुभयो । विश्व संस्कृत दिवस देशभरका गुरुकुलमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।