१५ भदौ, काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानसहित आबद्ध हुनेमा वैदेशिक रोजगारीमा जाने, गएका र विदेशमा नै स्वरोजगारको आकर्षण उच्च देखिएको छ। २०७९ चैत ८ गते वैदेशिक रोजगारका लागि कोषमा आबद्ध गराउन थालिएकोमा हालसम्म कोषमा आबद्ध हुनेको झन्डै आधा सङ्ख्या पुग्न लागेको छ। सरकारले २०७५ मङ्सिर ११ गते सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकको आबद्धता थालेको हो।
कोषमा औपचारिक क्षेत्रका श्रमिकको आबद्ध हुने क्रम भने २०७६ साउन १ गतेदेखि सुरु भएकामा हाल कोषमा १८ हजार २३३ रोजगारदाता र सात लाख ४६ हजार पाँच सयभन्दा बढी योगदानकर्ता आबद्ध भएका छन्। यसमा तीन लाखभन्दा बढी वैदेशिक रोजगारीमा जाने, गएका र विदेशमा स्वरोजगार रहेको सामाजिक सुरक्षा कोषले जनाएको छ।
वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति लिुनपूर्व अनिवार्य कोषमा आबद्ध हुनुपर्ने बाध्यात्मक व्यवस्था गरिएका कारण श्रम स्वीकृति लिएर विदेश जाने सबै कोषमा आबद्ध हुँदा यस क्षेत्रको हिस्सा बढेको हो।
औपचारिक क्षेत्रका श्रमिक सबैलाई कोषको योजनामा आबद्ध गराउने विषयमा सरकार, रोजगारदाता र ट्रेड युनियनको त्रिपक्षीय सहमति अनुसार कार्यान्वयनमा ल्याइएको हो। कोषको योजनामा कार्यान्वयनमा सरकार र रोजगारदाता जति जिम्मेवार हुनुपर्ने हो, त्यति नहुँदा औपचारिक क्षेत्रका श्रमिकका लागि आकर्षण बन्न नसकेको ट्रेडडयुनियनकर्मीले आरोप लगाउँदै आएका छन्।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटयुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले कार्यक्रम कार्यान्वयनमा रोजगारदाताको नियत ठीक नदेखिएको बताउँदै पाँच वर्षमा सूचीकृत रोजगारदाता संस्था र त्यसमा काम गर्ने कर्मचारी र श्रमिकको सङ्ख्याले प्रस्ट गरेको बताए ।
देशभर न्यूनतम एक लाख रोजगारदाता प्रतिष्ठानमा ४०–४५ लाखको सङ्ख्यामा श्रमिक कार्यरत रहेकामा अहिलेसम्म १८ हजार १९९ वटा प्रतिष्ठानका चार लाख ४६ हजार योगदानकर्ता मात्रै कोषको योजनामा आबद्ध हुनुलाई उपलब्धिका रूपमा लिन नसकिने उनको भनाइ छ। गाेरखापत्र दैनिकमा समाचार छ ।