बाग्मती

मेयर पत्नीलाई अनावश्यक केरकार गरियो : निजी सचिवालय

१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार राति फेसबुकमार्फत सिंहदरबारमा आगो लगाउने दिएको चेतावनीबारे शाहका निजी सचिवालयले विज्ञप्ति निकालेको छ।

निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको बताएको छ । उत्तेजक अभिव्यक्ति दिएको भन्दै बालेनको सार्वजनिक आलोचना भएपछि आइतबार उनको सचिवालयले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको छ ।

सचिवालयका अनुसार बालेन दम्पतीका शिशु (मेडिसिटी अस्पताल) एनआईसीयूमा उपचाररत छन् । शनिबार साँझ बालेनकी पत्नी सविनाको स्वास्थ्यमा जटिलता देखिएपछि बालेनले चढ्ने महानगरको गाडीमा अस्पताल गएकी थिइन् । आफ्नो स्वास्थ्य परीक्षण गर्नुका साथै शिशुलाई स्तनपान गराएर घर फर्किँदा सविना चढेको गाडीलाई कोटेश्वरमा चेकजाँचमा बसेको ट्राफिक प्रहरीले रोकेको थियो । त्यस क्रममा प्रहरीले दुर्व्यवहार गरेको बालेनको स्वकीय सचिवालयले जनाएको छ ।

‘नगर प्रमुखसहितको परिचय खुलाएपश्चात प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो, प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नगरी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गर्‍यो’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति