२० भदौ, चितवन । पुर्खौँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् । चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेका बोटे समुदायका एक सय आठ परिवार अहिले खोला र वनजङ्गलको विकल्पको खोजीमा जुटेका हुन् ।
खोलानाला र वनजङ्गलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन् । वैकल्पिक पेसाको रूपमा यहाँका बोटे समुदायले होमस्टे ९घरबास० सञ्चालन गर्ने र सामुदायिक माछापोखरी निर्माणजस्ता काममा जुटेका छन् । उनीहरूले २०७७ देखि १० वटा बोटे होमस्टे ९घरबास० र चार सामुदायिक माछापोखरी बनाएका छन् । अगुवा जगनारायण बोटे पहिला दैनिकी चलाउनका लागि माछा मार्न जानुपर्ने भए पनि अहिले त्यस्तो नरहेको बताउँछन् ।
उनले भने, “अहिले पहिलाको जस्तो वनजङ्गल र खोलामा आश्रित हुनुपरेको छैन ।” कहिलेकाहीँ रहरले माछा मार्न खोलामा जाने गरेको भए पनि पहिलेको जस्तो अवस्था अहिले नरहेको बोटेले बताउनुभयो । होमस्टे सञ्चालनमा आएसँगै वार्षिक खर्च कटाएर रु ६०–७० हजार कमाइ हुँदै आएको उनले जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्जले २०७२ सालमा निकुञ्ज र ताल कार्यक्रमसँग मिलेर माडीका ती समुदायलाई माछापालन तथा होमस्टे सञ्चालनका लागि तालिम दिएको थियो । तालिमपछि यो समुदायले बोटे परिकार खुवाउनका लागि होमस्टे सञ्चालन गरेको लालुमाया बोटे बताउँछन्। जङ्गल र खोलानालामा धेरै जाने जाति भनेर चिनिएको यस समुदायमा अहिले मुहार फेरिन थालेको उनले बताए। उनले भनेन “पहिला हामी छ महिना खेतीपाती गरेर खाए छ महिना जङ्गल र खोलानालामा गएर गुजरा चलाउनुपथ्र्यो । होमस्टे सञ्चालनमा आएसँगै त्यो समस्या हटेको छ ।” अहिले होमस्टेमा आउने पाहुनाका लागि खुवाउन पोखरी निर्माण गरी माछापालन गरिरेहको उनले जानकारी दिए।