पत्रपत्रिका

पशुपति गौशाला धर्मशालामुक्त गर्न बाटो खुला

२९ भदौ, काठमाडौं । मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको पशुपति गौशाला धर्मशालाका सन्दर्भमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले गरेको सम्झौता खारेजीको निर्णय कार्यान्वयनका लागि बाटो खुलेको छ।

काठमाडौँ जिल्ला अदालतले निर्णय कार्यान्वयन नगर्न यसअघि जारी भएको अन्तरकालीन आदेश भदौ २५ गते खारेज गरेसँगै पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिको कब्जाबाट मुक्त हुने भएको छ। 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले पशुपति क्षेत्र विकास कोषविरुद्ध मारवाडी सेवा समिति नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै सम्झौता खारेजी कार्यान्वयन नगर्न साउन २९ गते जारी अल्पकालीन अन्तरकालीन आदेशलाई निरन्तरता नदिने आदेश जारी गरेको हो।

आदेशमा भनिएको छ, “सोबमोजिमको पत्र प्राप्त गरेको निवेदक मारवाडी सेवा समितिले स्वीकार गरेको अवस्था हुँदा र पछि मुद्दा फैसला हुँदा ठहरेबमोजिम हुने नै हुँदा यस अदालतबाट साउन १९ गते जारी अल्पकालीन, अन्तरकालीन आदेशलाई निरन्तरता दिइरहनुपरेन।” कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले अदालतको आदेशसँगै कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा भएको निर्णय कार्यान्वयनको बाटो खुलेको बताए । 

उनले भने, “पशुपति गौशाला धर्मशाला पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीका लागि र नन्दीहरूको व्यवस्थापन गर्नका लागि हो। अदालतको आदेशको सम्मान गर्दै हामी आवश्यक निर्णय गरेर धर्मशाला व्यवस्थित रूपमा सञ्चालन गर्ने छौँ।” गोरखापत्र दैनिकमा समाचार छ ।