समाचार

सम्झनामा पुरानो तीज

१ असोज, चितवन । “सुन्तलीको हाँगा र बिगा टुप्पै बस्यो जुरेली,
तेइमा जुरेली मारीमा ल्याउँछु लेउ लेउ भाउजू गुलेली,
नी बरीलैै लेउ लेउ भाउजू गुलेली”

तीजका अवसरमा दिदीबहिनीहरूसँग दर खाँदै गर्दा प्रस्तुत गीत गाउँदै नाच्दैै गर्नुभएकी भरतपुर–२ की शान्ता अधिकारी एक छिन ३५÷४० वर्षअघि गोरखामा आमासँग माइतीको आँगनीमा नाच्दै गरेको अवस्थामा फर्के ।

“माइती दिदीबहिनी भेट भएको बेलामा मलाई यो गीतले पुरानै बाल्य अवस्थामा फर्कायो”, आमाले माइती गाउँमा तीजको मेलामा यही गीतमा नाच्ने गरेको स्मरण गर्दै उनले भने, “यस्ता गीतले मलाई दिवङ्गत आमाको यादले झस्काउँछ । अब ती दिन फर्केर त आउँदैन तर माइती गाउँकै दिदी, बहिनी, भाउजू भेट हुँदा भने पुरानो यादले यो मन फेरि माइतीगाउँतिर लैजान्छ । ”

गाउँका माइतीहरू पनि गाउँ छाडेर सहर पसेको बताउने अधिकारी फेरि एकपटक पुरानै माइती गाउँमा गएर तीजमा कम्मर मर्काउने धोको रहेको बताउछन् ।

रत्ननगरको टाँडी माइतीमा तीज मनाउँदै गर्नुभएकी राधिका अधिकारी तीजको स्मरण गर्दै भने, “तीजको दिन छुट्टै रौनक हुन्थ्यो, राति दर खाएपछि दिनभर पानी पनि नखाई व्रत बसिन्थ्यो ।” उमेरले ६० वसन्त नाघ्नुभएकी उहाँँले जवानीमा चेलीबेटी जम्मा भई दिनभर नाचगान गर्दा भोक र थकाइको महसुस नहुने गरेको बताए । माइतीको आँगनीमा बसेर गाइने तीजका गीतले चेलीको वेदना प्रस्तुत गर्ने भन्दै उनले एक टुक्का गाए ,

“बाबाले दिएको शिरै लाउने शिरफुल सुन्तला घारीमा खस्यो बरीलै,
घर जाऊ छोरी भन्नुहुन्छ बाबाले माइतमै दिल बस्यो बरिलै”

उमेरले ८४ वर्ष लाग्नुभएकी भरतपुर–११ की लीलादेवी दवाडी आजकाल तीज आएकै थाहा पाउदैनन । पहिले पहिले उमेर छँदा तीज आउनुभन्दा दुई–तीन दिन अघिदेखि नै घरका गाईवस्तुलाई घाँसको व्यवस्था गरी घरको कामलाई छोट्याएर तीजका दिन माइत जाने गरेको उनले बताए । उनले भने, “ऊ बेलामा आजकाल जस्तो कसैलाई फुर्सद हुन्थेन । ढिकी, जाँतो र घरको काम गरेर दिन जान्थ्यो, तीज आउनुभन्दा पहिला रातभर नसुती माइत जानका लागि काम सक्नुपथ्र्यो ।”

नवलपुरको गैँडाकोट घर भएर भरतपुर माइत आउनुभएकी सम्झना अघिकारीले तीजमा हजुरआमाले पकाएको दरको याद गरे । उनले भने, “सानोमा तीजको दर खाँदा असाध्यै रमाइलो लाग्थ्यो । दर खाने रात हजुरआमा नसुती दर पकाउनुहुथ्यो । अनि हामीलाई राति दर खान उठाउनुहुन्थ्यो, हामी खुसी भएर दर खान्थेम ।”

घरका सबै जना राति उठेर हजुरआमाले पकाएको दर खाएको हिजो जस्तो लागेको तर हजुरआमा बितेको २० वर्ष पुगेछ भन्दै उहाँ एकछिन भक्कानिए । पहिले तीजको बेलामा आमाहरूले गाउने एउटा गीतको स्मरण गर्दै उनले गाए,

“फररर फरर चौतारीको बरको पात,
को सँग भनौँ मैले यो मनको बात,
बाबासँग भनौँ भने बाबा बूढो हुनुभो,
आमासँग भनौँ भने पहिल्यै रुनुभो ।”

पहिल–पहिले चेलीको वेदना तथा विभिन्न घटनालाई कथेर तीजका गीतहरू गाइने गरिने तर आजकाल त्यस्ता गीतको मौलिकता हराउँदै गएकोे उनलाई लागेको छ ।