लुम्बिनी

अधिकार बाँडफाँटमा सङ्कुचित हुनुहुँदैन : मुख्यमन्त्री चौधरी

३ असोज, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख चुनौती रहेको बताउनुभएको छ । उनले संविधान कार्यान्वयन अधिकार बाँडफाँट संविधानअनुसार हुनुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले अधिकार बाँडफाँटमा सङ्कुचित हुनुनहुने र संबिधानमा लेखिएको अनुसार काम गर्न पाउनुपर्ने बताए ।

संविधानमा सबैको भावना समेटिएको भन्दै उनले सबै भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर यसको कार्यान्वयन सहजरूपमा हुन नसकेको बताए ।

संविधान कार्यान्वयन गर्न सबै निकायबीचमा समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै मुख्यमन्त्री चौधरीले संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । प्रदेशले गरेको प्रतिबद्धता पूरा गर्न केन्द्रको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

“संविधानमा भएका अधिकार चाँडै प्रदेशले प्राप्त गरोस् । संविधानमा लेखिएका कुराहरू दिनलाई कहाँ कन्जुस्याइँ भएको छ”, उनले भने, “जनतासँग नजिक हुनको लागि यो संविधानले महत्त्वपूर्ण योगदान दिएको छ ।”