समाचार

प्रधानन्यायाधीश र प्रधानसेनापतिद्वारा प्राड विवाक जर्नल-२०८० विमोचन

४ असोज, काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रधानसेनापति प्रभुराम शर्माले प्राड विवाक जर्नलको संयुक्तरूपमा विमोचन गरेका छन् ।

सेना प्राड विवाक स्थापनाको ६१औँ वार्षिकोत्सवको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनीहरुले उक्त जर्नल विमोचन गरेको सैनिक जनसम्र्पक तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले सैनिक न्याय प्रणालीको विकासमा योगदान दिनुहुने सैनिक विशेष अदालतका पूर्वअध्यक्ष तथा उच्च अदालत, पाटनका पूर्वकायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी, सेना प्राड विवाकका पूर्वप्रमुखद्वय प्राड विएकुमार शर्मा र होमकुमार लावतीलाई सम्मान–पत्र प्रदान गरे ।

प्रधानसेनापतिले उहाँहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको निर्देशनालयले जनाएको छ । त्यस अवसरमा प्राड विवाक, प्रमुख उपरथी रत्नप्रकाश थापाले विभागको कार्यसम्पादनबारे जानकारी गराउँदै स्वागत अभिवादन गरेका थिए ।

समारोहमा सर्वोच्च अदालतका न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष, महान्यायाधिवक्ता, उच्च अदालतका मुख्य न्यायाधीश तथा पूर्वमुख्य न्यायाधीश, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, कानून सचिव, बलाध्यक्ष, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक लगायत नेपाली सेनाका रथीवृन्द एवं अधिकृतहरूको उपस्थित थिए ।

सहायक रथी अधिकारीको पदावधि तीन वर्ष थप

नेपाली सेनाका सहायकरथी यमबहादुर अधिकारीको पदावधि तीन वर्ष थप भएको छ ।

विशेष पदमा कार्यरत अधिकारीको पहिलो चार वर्षको पदावधि गत भदौ ३१ गते पूरा भएको थियो । सैनिक मुख्यालयले पहिलो चार वर्षे पदावधि सकिने मितिबाटै लागू हुने गरी तीन वर्ष पदावधि थप गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । माओवादी लडाकूको नेपाली सेनामा समायोजनपछि तालिम पूरा गरे लगत्तै अधिकारीलाई महासेनानीमा नियुक्ति दिइएको थियो ।

सहाकरथी दर्जाको विशेष पदलाई निरन्तरता दिने गरी दोस्रो पदावधि थप भएको छ । पदावधि थपसम्बन्धी नियमित प्रक्रियाअनुरूप नै सैनिक ऐन तथा नियमावलीको आधारमा निर्णय भएको निर्देशनालयले जनाएको छ ।