बाग्मती

पूर्वाधारमा फड्को मार्दै महाभारत गाउँपालिका

६ असोज, धुलिखेल । नागरिकले प्रत्यक्षरुपमा अनुभूति गर्न पाउने गरी परिवर्तन हुन्छ भन्ने आशा सायद यहाँका अघिल्लो पुस्ताका नागरिकमा थिएन । तर संघीयतापछि काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका नागरिकलाई दैनिक हातमुख जोड्नका लागि पाखापखेरी खनीखोस्री गरेर उब्जाउ गरेको अन्नपात र बस्तुभाउ घरगोठ भरी राखेर नुन, तेल र मरमसला किन्नका लागि घटौँको बाटो हिँड्नुपर्ने बाध्यता विस्तार दूर हुँदै गएको छ ।

विगतमा यहाँका बासिन्दाको लागि उत्पादन गरेको कृषिजन्य वस्तुको विक्री तथा आङ छोप्न आवश्यक पर्ने लत्ताकपडा खरिद गर्न एक÷दुई दिनको पैदल यात्रापछि मात्रै मुख्य सहर र जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । अहिले स्थानीय तहको नेतृत्वमा युवा जनशक्तिले विकासको बागडोर सम्हालेपछि जिल्लाको विकट क्षेत्र डाँडापारिको महाभारत गाउँपालिकाको बल्ल मुहार फेर्दै गएको हो । यसअघि केही अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सामाजिक संस्थामार्फत शौचालय, पैदलयात्रीको लागि सिंढी निर्माण, खानेपानी धारा र झोलुङ्गे पुललगायतका एक टोलदेखि अर्को गाउँसम्म जाने सुविधा मात्रै उपभोग गर्दै आएका यहाँका नागरिकका लागि विद्युतीकरणमा केन्द्रीय प्रसारण लाइन र पक्की मोटरबाटोले गाउँदेखि शहरसम्म जोड्ने कार्यको थालनीसँगै नयाँ मुहार फेर्नुका साथै सुविधासमेत उपभोग गर्दै आएको स्थानीय बासिन्दा बताउँछन् । पछिल्लो समयमा भने सञ्चारको सहज पहुँचसँगै सडक सञ्जालको पहुँच, ‘एक घर, एक खानेपानीसहितको धारा र केन्द्रीय विद्युत् प्रसारण लाइनको विद्युतीकरण यहाँको नागरिकको लागि प्रत्यक्ष अनुभूति हुने विकासका आधारहरु भएको उनीहरुको भनाई छ ।

नेकपा ९माओवादी केन्द्र० का महाभारत गाउँपालिका कमिटी इञ्चार्ज एवं स्थानीयवासी सुजन तामाङले संघीय संरचनामा गएपछिको पहिलो पाँच वर्ष र अहिलेको दोस्रो कार्यकालको सुरुआतसम्म आइपुग्दा डाँडापारिका नागरिकले प्रत्यक्ष अनुभूति हुने खालको विकास आयोजना महसुश हुने गरी उपभोग गर्न पाएको बताए। “पहिला हामीले भूगोलले विकासलाई छेक्न सकिदैन, इच्छाशक्ति र त्यसको सही नेतृत्व पाउने अवस्थामा गाउँघरको मुहार फेर्न सकिने विचार र योजना जनतालाई सुनाएका थियौँ, अहिले त्यही अनुसारको काम गरेर परिणाम देखाइरहेका छौँ”, उनले भने, “त्यो हाम्रो सपना थियो, अहिले विपनामा परिणत गरेर नागरिकको जीवनस्तरमा परिवर्तन हुने खालको काममा सहयोग पु¥याइरहेका छौँ ।”

गाउँको विकास निर्माण र नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजना बल्ल सुरु भएको महाभारत गाउँपालिका–५ का पूर्ववडाध्यक्ष रविन मोक्तानले बताए। ‘‘महाभारत, रोशी, खानीखोलालगायतका पालिका एवं जिल्लाकै लागि बहुप्रतिक्षित आयोजना निर्माणमा महाभारत गाउँपालिका अनि जिल्लास्थित कार्यालयको समन्वयमा जुट्दै अघि बढेको छ’’ उहाँले भन्नुभयो, “अझ धेरै नयाँ विकाय आयोजनाका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार यसरी नै आवश्यक सहयोग र समन्वय गरेर अगाडि बढ्न आवश्यक छ ।”