आर्थिक

२.७ किलो सुनसहित विमानस्थलबाट फिलिपिन्सकी महिला पक्राउ

१३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुनसहित एक महिला पक्राउ परेकी छन् । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको हो । महिलाले भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् ।

प्रहरीले उक्त सुन र सुन ल्याउने महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ । सुन कहाँबाट ल्याइएको थियो र कहाँ लगिदैछ भन्ने विषय खुलेको छैन ।