१४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलयबृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएका छन् ।
“चाडपर्वको मुखमा जनताले चर्को मुल्यबृद्धि खेप्नुपर्ने मध्यनजर गरेर प्रधानमन्त्रीज्यूले मुलयबृद्धि तत्काल रोक्ने र साबिककै मूल्य कायम गर्ने निर्देशन गर्नु भएको छ । सम्भवत आयल निगमले केहीबेरमा सूचना निकाल्छ होला”, आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकपछि सञ्चारकमीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री रेखा शर्माले भनिन् ।
आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।