बाग्मती

शून्य समयमा सरकारको ध्यानाकर्षण

१४ असोज, मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा शून्य समयमा प्रदेशका विभिन्न सदस्यहरूले जनतासँग जोडिएका विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

उक्त शून्य समयमा बोल्ने सत्तापक्ष तथा प्रतिपक्षका सदस्यहरूले चाडपर्वका अवसरको मौका छोपेर इन्धन, ग्यास र बजारमा खाद्यान्न मूल्य अति नै मूल्यवृद्धि भएकामा सङ्घीय सरकारसँग सहकार्य गरेर मूल्य घटाउन गर्नुपर्नेमा जोड दिए ।

प्रदेशका विभिन्न जिल्लामा रहेका विपन्न नागरिकको दैनिकी कष्टकर भएको भन्दै उनीहरुले प्रदेश सरकारले पनि सङ्घीय सरकारसँग समन्वय गरेर उनीहरूका माग सम्बोधन गरे ।

संविधानमा कैदीबन्दीहरूले आफ्नो सजाय भुक्तान गरेको ६० प्रतिशत पूरा भएको अवस्थामा मात्रै राष्ट्रिय पर्वमा माफी दिने प्रचलन भएको भए पनि सरकारले आफ्नो गठबन्धनको सरकार टिकाउन दलका नेता र कार्यकर्ताहरूलाई विशेष छुट दिई रिहा गरेको आरोप लगाउँदै प्रदेशसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराए ।

हेटौँडा उपमहानगरपालिका–७ स्थित फारलाइनमा केही वर्षअघि अपाङ्गमैत्री आश्रमका लागि बनाइएको भवन सम्बन्धित पक्षले प्रयोग गर्नुको सट्टा प्रदेश शिक्षा निर्देशनालयको कार्यालय सञ्चालन गर्न दिइएकामा चिन्ता व्यक्त गर्दै उनीहरुले सो भवन अब अपाङ्ग भएकालाई फिर्ता गर्न माग गरे ।

उक्त शून्य समयमा प्रदेशसभाका सदस्यहरू उद्धव थापा, आशा लामा, एकलाल श्रेष्ठ, केशवप्रसाद पोखरेल, गीता काफ्ले, भारती पाठक, मधुकुमार श्रेष्ठ, रामकुमार पहाडी, लक्ष्मी घिमिरे, सकुन्तला श्रेष्ठ, सृजना सैँजू, गिरबहादुर तामाङ, सुरेन्द्रराज गोरसाईं र ओमकुमार श्रेष्ठले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रदेशसभाको अर्को बैठक भोलि असोज १५ गते दिउँसो २ बजे बस्ने गरी स्थगित भएको सभामुख भुवनकुमार पाठकले बताए ।