१६असोज, काठमाडौं । नेकपा एमालेले संविधान दिवसका अवसरमा भएको कैदी मिनाहाप्रति प्रश्न उठाएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको कैदी मिनाहाप्रति प्रश्न उठाएका हुन् ।
संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएका थिए । अध्यक्ष ओलीले भने, “एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ ।
नेपालगञ्ज आतंकित भएको भन्दै उनले भने, “नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ।”