शिक्षा

इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा बोर्डका अध्यक्षसहित सदस्य, सल्लाहकारले दिए राजीनामा

१७ असोज, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानका प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.शुशीलबहादुर बज्राचार्यले राजीनामा दिएका छन्।

बोर्डका अध्यक्ष बज्राचार्यसहित सदस्यहरु सहप्राध्यापक डा. सञ्जीवप्रसाद पाण्डे, उपप्राध्यापक किरणचन्द्र दाहाल, सदस्य सचिव विदुर ढकाल र सल्लाहरकाहरु सहप्राध्यापक डा. सुरज लामिछाने (परीक्षा शाखाका सहायक डीन) प्रा.डा.हिक्मत राज जोशीले राजीनामा दिएका हुन् ।

बोर्डको राजीनामासँगै २२ गते असोजदेखि तोकिएको प्रवेश परीक्षा नहुने पक्का भएको छ । बोर्डका पदाधिकारीले मंगलबार डिन कार्यालयले पठाएको पत्र अनुसार असोज १७, १८ र १९ गते फारम लिएर २२ गते परीक्षा सञ्चालन गर्न नसकिने भन्दै मंगलबार राजीनामा बुझाएको जनाएको छ ।

सोमबार संस्थानका डिन प्रा.डा.शशीधर राम जोशीले इन्जिनियरिङको स्नातक तहको शिक्षण शुल्क पुरानै तीन लाख १८ हजारमा भर्ना लिने र भर्ना प्रवेश परीक्षाको लागि १७, १८ र १९ समय दिएको भन्दै सूचना जारी गरेको थियो । प्रवेश परीक्षा भने २२ असोजदेखि हुने उक्त सूचनामा जनाइएको थियो ।