१७ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमसीसी परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले एमसीसी परियोजनामार्फत अगाडि बढेको आयोजना नेपालले प्राथमिकता दिएको परियोजनाभित्र परेको बताए ।
परियोजना कार्यान्वयनको सेलिब्रेसन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने भन्दै प्रसारणलाइनबाट गुणस्तरीय ऊर्जा उपलब्ध गराउन सम्भव हुने समेत बताए ।
साथै विद्युत निर्यातमा समेत सघाउ पुग्ने उनले बताए । नेपाल सन् २०२६ देखि विकाससिल मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको प्रधानमन्त्री दाहालले बताए । यस अवधिका अमेरिकाबाट थप सहयोगको अपेक्षा गरिएको समेत उनले बताए ।
एमसीसी सम्झौता भएको ३० अगष्टको दिन नेपाल–अमेरिका सम्बन्धको महत्वपूर्ण मिति भएको समेत बताए । “यो परियोजना नेपाल र अमेरिकाको बढ्दो आर्थिक साझेदारीको प्रतिबिम्ब पनि हो”, उनले भने ।