सुवास मगर, २१ असोज, काठमाडौँ । काठमाडौँमा प्राइभेट कलेज र बोर्डिङ स्कुलहरू धेरै नै छन् । सरकारी स्कुलमा अध्यापन गराउनेहरूले पनि आफ्ना सन्तानलाई प्राइभेट बोर्डिङ स्कुल तथा कलेजमा अध्ययन गर्न पठाउने गरेका छन् ।
नेपालमा शिक्षा र स्वास्थ्यमा गुणस्तरीय र निःशुल्क भन्ने कुरा पहिल्यै देखी उठेको भए पनि त्यो कुन चराको नाम हो भन्ने भान भएको छ ।
शिक्षा र स्वास्थ्य निःशुल्क हुनुको त कुरै छाडौँ, अत्यधिक महँगा भएर अभिभावकहरू आफ्ना छोराछोरीलाई कलेज पढाउन नै नसक्ने अवस्थामा पुगेको बताउने गरेका छन् ।
कलेजहरूले बिशेषगरी आफ्ना विद्यार्थी तथा शिक्षकहरूका लागि खाजा तथा खाना खान सजिलो होस् भनेर आफ्नै कलेजको प्रांगढमा क्यान्टिन सञ्चालन गर्ने गरेका छन् । कलेजले पनि अन्य सरकारी निकाय, अस्पतालमा जस्तै आफ्ना प्रांगढमा खोलिएका क्यान्टिनमा खाजा, खाना सस्तोमा उपलब्ध गराउने गर्दछन् ।
तर राजधानी काठमाडौँको बानेश्वरमा एउटा असाध्यै महँगो कलेज छ त्यहाँ सादा दही खाना खाएको प्रतिव्यक्ति रु २०० तिर्नुपर्छ भने बोईलर कुखुराको मासु खाना खाएको प्रतिव्यक्ति २५० रुपैयाँ तिर्नुपर्नेछ । क्यान्टिनमा बाहिरभन्दा सस्तो हुनुपर्ने भए पनि महँगा रेष्टुरेण्टमा जस्तै बानेश्वरको उक्त क्यान्टिनले खाना बेच्ने गरेको पाईएको छ ।
स्नातकमा बिजनेस एड्मिनिष्ट्रेशन, कम्प्युटर सिस्टम एन्ड इन्फरमेसन टेक्नोलोजी, बिबिए, एमबिएलगायतका कोर्समा बिद्यार्थीहरुलाई भर्नासमेत माग गरेको उक्त कलेजमा बुझ्न आउने विद्यार्थी तथा अभिभावकहरू फि भन्नेबित्तिकै झस्किने गरेका भए पनि कयान्टिनको खानाका बारेमा बुझे भने झनै झस्किने कलेज नजिकै सामान्य खाजा होटेल खोलेर बसेका एक सञ्चालकले सुर्यखबरलाई बताए ।
प्रति ब्यक्ती एक सयमा कलेज बाहिरका सामान्य क्यान्टिन तथा होटलले खाना उपलब्ध गराईरहेको भए पनि कलेजको प्रांगडमा सञ्चालित क्यान्टिनले कलेजमा अध्ययनरत विद्यार्थीबाट उठाएको रकमले व्यापार नपुगेर क्यान्टिन बिजनेसबाट पनि राम्रो रकम कुम्ल्याउने उद्देश्य राखेको क्यान्टिनले लिएको महँगो बिलबाट देखिन्छ ।खाना महँगो त छंदैछ त्यो खानामा गुणस्तर पनि खासै नभएको खाना खानेहरूको तर्क छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री सञ्चालक रहेको उक्त कलेजले धेरैजसो सेयर बेचेको भनिए पनि डा रिजालकी श्रीमती दुर्गा रिजाल प्रिन्सिपल रहेकी छन् । महँगो दरमा किन खाना रहेको छ तपाईको कलेजको क्यान्टिनमा भनेर एड्मिशन हेड हरि प्रसाद गौतमलाई सुर्यखबरबाट सम्पर्क उर्दा उनले फेन उठाएनन् । उक्त कलेजले एमबिए अध्ययन गरेको उक्त कलेजले १० लाखको हाराहारीमा रकम लिने गरेको छ भने अन्य कोर्सहरू पनि महँगा नै छन् ।




