२२ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालका २७६ जना कर्मचारीलाई एकैपटक हटाएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा कोरोना महामारीको समयमा काम गरेका कर्मचारीहरुलाई एकैपटक हटाएको हो ।
एकैपटक ठुलो संख्यामा कर्मचारी हटाउँदा अस्पतालमा शल्यक्रियादेखि आईसीयूसम्मका सेवा प्रभावित भएका छन् । कोरोना महामारीको समयमा वीर अस्पतालको सर्जिकल भवन सञ्चालनका लागि स्वास्थ्य मन्त्रालय मातहातमा ८३१ पुल दरबन्दी सृजना गरिएको थियो ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बजेट दिन नसक्ने बताएपछि १५ असोजमा बसेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्को बैठकले २७६ जना कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको छ ।