२३ असोज, काठमाडौं । इजरायलमा रहेका विद्यार्थी सुरक्षित रहेको त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयले जनाएको छ ।
इजरायलको ‘किन्नरेट एकेडेमिक कलेज’ मार्फत विभिन्न कृषि फार्ममा काम गरिरहेका विद्यार्थी मध्ये ‘जेरिट फार्म’ च्याउ फार्ममा रहेका ७२ विद्यार्थीले असुरक्षित भएको जानकारी दिएपछि त्रिविले नेपालस्थित इजरायली दूतावास, इजरायलमा रहेको नेपाली दूतावास र किन्नरेट एकेडेमिक कलेजसँग विद्यार्थीको उद्धार गर्न पहल गरेको जनाएको छ ।
सेनाले सोमबार राति नै ‘जेरिट फार्म’मा कार्यरत ती विद्यार्थीलाई तत्काल उद्धार गरेर विभिन्न पाँच वटा बंकरमा राखेको थियो । मंगलबार ती विद्यार्थीलाई किन्नरेट कलेज नजिक अझ सुरक्षित क्षेत्रमा ल्याइरहेको जानकारी पाएको कृषि र पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा.भार्गव धितालले जानकारी दिए ।