बाग्मती

आचार्य समाज धादिङ–काठमाडौँ सम्पर्क समितिको संयोजकमा मोहन कुमार

६ असोज, काठमाडौँ । आचार्य बन्धु समाज नेपालको केन्द्रीय कार्यसमितिको बैठकले आचार्य बन्धु समाज नेपाल धादिङ काठमाडौँ सम्पर्क समितिको संयोजकमा मोहन कुमार आचार्यलाई चयन गरेको छ ।

समाजको केन्द्रीय कार्य समितिको बैठकले समाजसेवी आचार्यलाई यथाशीघ्र कार्यसमिति गठन गरी केन्द्र, प्रदेश तथा धादिङ जिल्ला कार्यसमितिसमेतलाई जानकारी निर्देशन दिएको छ ।

देशभर ७७ वटै जिल्ला, सातै प्रदेश तथा आचार्यहरू भएको देशभरका स्थानीय तहमा आवश्यक परे वडामा समेत बिस्तार गर्दै गरेको आचार्य बन्धु समाज नेपालले धादिङको सम्पर्क समिति बिस्तारको कार्यलाई निरन्तरता दिएको छ।

मोहन कुमार आचार्यले धादिङबाट काठमाडौँ उपत्यका आई बसोबास गर्ने कौडिन्य गोत्रीय आचार्यहरूबिच विभिन्न कार्यक्रमहरू गर्ने कार्यको संयोजन गर्नेछन् ।

सम्पर्क समितिका नबनियुक्त सभापति आचार्यले आफूले पाएको जिम्मेवारी तन, मन र धनले निभाउन कुनै कसर बाँकी नराख्ने भन्दै विश्वभरका आचार्यहरूलाई समाजसँग जोडिन आग्रह गरे ।

आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले नवनियुक्त संयोजकलाई धादिङ जिल्ला अध्यक्ष अर्जुन प्रसाद आचार्यको उपस्थितिमा खादा लगाएर शुभकामना दिएका थिए ।