साहित्य

म साँच्चिकै त्रस्त छु

रविद्र मिश्र -कविता

मलाई भूकम्पबाट बाँचेर
कठ्याङ्ग्रिँदो चिसोले मरेका
अभागी लाशदेखि डर लाग्दैन

मलाई २० हजार रूपैयाँको अभावमा
आमाको आँशु संझिँदै
सबैसँग माफी माग्दै
अस्पतालको छतबाट
हाम फालेर मरेका
नीलाम्य शवदेखि डर लाग्दैन

मलाई राम्रो खाना, नाना र छाना नपाउँदा
मिटरव्याजले किचेर, सपनाले उडार
खाडी पुर्याएको
र चिसो बाकसमा फर्किएको
ती अतृप्त मृत्युदेखि डर लाग्दैन

आफ्नो च्यातिएका चप्पल र चोलो सम्हाल्दै
मेरा नाती–नातिनीको चिल्ला गाला – र गाडि हेर्दै
भक्कानिएर अतितलाई धिक्कारी रहेकी
उजेली बिकको बर्तमानदेखि डर लाग्दैन

मलाई हरीया झार र झाडीले
उजाड बनाएको गाऊँ
सुन्दर सुट र सृङ्गारले
ढुङ्गा बनाएको शहर
गन्हाउने मन्द हावा
र विषाक्त मिठो पानी
रित्तिँदै गएको ढुकुटी
र सिद्धिँदै गएको देशदेखि पनि
डर लाग्दैन

ती सब जीवनका यथार्थ हुन्
‘द्वन्द्वात्मक भौतिकवाद’का उपज हुन्
मेरा लागि ईश्वर ‘ढुङ्गा’ र मन्दिर ‘भ्रम’ हुन्

मलाई डर छ त केवल एउटै डर छ
म आजभोली जताततै
जे नदेख्नु पर्ने त्यही देख्छु

नारायणको मन्दिर देख्छु
मन्दिरमाथिको गजुर देख्छु
गजुरमा लर्किएको कल्की देख्छु
हिमाल, पहाड र तराईमा
भक्तजनहरूको लर्को देख्छु
‘प्रतिगमन’को अर्पण देख्छु

म साँच्चिकै त्रस्त छु
हे माओ…मलाई बचाऊ
म भित्रभित्रै मरिसकेको छु!

०६ मंसिर २०८०
(फोटोः ह्यारिस जङ्ग क्षेत्री)