अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु


दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको एउटा लिफ्ट नियन्त्रण बाहिर गएर खस्दा ११ जनाको मृत्यु र ७५ जना घाइते भएको खानी सञ्चालकहरूले मङ्गलबार बताएका छन् ।

इम्पाला प्लाटिनमले सोमबार जोहानेसबर्गको उत्तरपश्चिममा रस्टेनबर्ग खानीमा ‘विनाशकारी दुर्घटना’ भएको बताएको छ । त्यतिबेला ८० भन्दा बढी मजदुरले आफ्नो सिफ्टको अन्त्यमा मार्ग बनाउँदै थिए । कम्पनीका अनुसार स्थानीय समयअनुसार लिफ्ट अप्रत्याशितरूपमा तल ओर्लन लागेपछि साँझ ५ बज्नुभन्दा पहिला चेतावनी जारी गरिएको थियो ।  

“कन्भेन्स काउन्टरवेटको ज्याक क्याचमा फसेका कारण लिफ्टको द्रुत अवतरण रोकियो”, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ज्याक क्याच एउटा सुरक्षा प्रणाली हो जसको उद्देश्य दुर्घटनाको स्थितिमा लिफ्ट र भूमिगत रेलहरूलाई पछाडि जानबाट रोक्नु हो । 

“यो विनाशकारी दुर्घटनामा जीवन गुमाउने र प्रभावित व्यक्तिहरूका लागि हाम्रो मुटु हृदय भारी भएको छ”, इम्पाला प्लाटिनम ९इम्प्लाट्स० का प्रमुख कार्यकारी निको मुलरले भन्नुभयो, “हामी आफ्ना सहकर्मीहरू गुमाउँदा स्तब्ध भएका छाँै र निकटका सबै आफन्तसँग सम्पर्क गर्न सकियोस् भनी सुनिश्चित गर्ने प्रक्रियामा छौँ ।”

कम्पनीले ७५ मजदुर घाइते भएको र उनीहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको बताएको छ । इम्प्लाट्सका प्रवक्ता जोहान थेरोनले केही मजदुर गम्भीर घाइते भएको बताए । उनका अनुसार अधिकांशको घुँडा र खुट्टा भाँच्चिएको तथा अन्यलाई सामान्य चोट लागेको छ । 

उद्धार कार्य सकिएको र सबै ८६ मजदुरको अवस्था पत्ता लागेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनाको अनुसन्धान सुरु भएका कारण मङ्गलबार खानीमा सबै काम रोकिएको छ ।