समाचार

लमजुङमा भयो नेपालमै पहिलो समलिंगी विवाह दर्ता


लमजुङको दोर्दी गाँउपालिकाले एक समलिंगी जोडीको विवाह दर्ता गरेको छ । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले विवाह दर्ता गरेको हो ।

लमजुङको दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरी दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएका थिए ।

समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले समलिंगी विवाह नेपालकै पहिलो भएको दाबी गरेका छन् । उनले आजको दिन नेपालमा समलिंगी अधिकारका लागि कोशेढुंगा बनेको बताए । यो नेपालमा मात्रै नभएर दक्षिण एसियामा नै पहिलो घटना भएको उनको भनाई छ ।

गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि उनीहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए । विभागले सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो ।