समाचार

सौराहामा गोही संरक्षण मेला हुने

चितवन ।जिल्लाको पर्यटकीय क्षेत्र सौराहामा गोही संरक्षण मेला २०८० हुने भएको छ । यही मङ्सिर २२ र २३ गते घडीयाल गोही संरक्षण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो । अति सङ्कटापन्न अवस्थामा रहेको घडीयाल गोहीको संरक्षणमा स्थानीय समुदायको सहभागिता, वैज्ञानिक सूचनाबारे जानकारीका साथै समग्र गोही प्रजातिको दिगो सरक्षण रणनिति तयार गर्न मेला आयोजना गर्न लागिएको हो ।

 नयाँ पिँढीमा सरक्षण संस्कृतिको विकास गर्न यो मेला आयोजना गर्न लगिएको मेलाकी संयोजक रञ्जना भट्टले जानकारी दिइन् ।  केयर अफ नेचरको आयोजनामा हुने उक्त मेलामा गोही प्रजातिसँग सम्बन्धी सूचनामूलक श्रब्य–दृश्य सामग्री, पोस्टर, चित्रकला तथा सूचना केन्द्रको अवलोकनका साथै स्थानीय कला, संस्कृति र  खानाका परिकारलगायत स्टल राखिने छ । मेला अवधिभर संरक्षणसम्बन्धी नाटक, गीत नृत्यलगायत कार्यक्रम गरिनाका साथै विभिन्न आठ विद्यालयमा संरक्षण शिक्षा सञ्चालन गरिने भएको उनले बताइन् ।

 यस मेलाले पर्यटकलाई आकर्षण गर्नाका साथै गोही प्रजातिको संरक्षणमा मद्दत पुग्ने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ्ले बताए। नेपालमा घडीयाल र  मगर गरी दुई प्रजातिका गोही पाइने गरेको छ । यिनीहरुको सङ्ख्या घट्दो क्रममा रहेको छ । नेपालमा घडियाल गोही दुई सय ३९ वटा रहेको छ भने मगर गोहीको गणना हालसम्म भएको छैन् ।