समाचार

सडक नबनेपछि स्थानीयले निकाले विरोध र्‍याली


सुर्खेत। मङ्गलगढी(काँक्रेविहार सडक स्तरोन्नतिको काम रोकिएपछि यहाँका स्थानीयले प्रदेश राजधानी वीरेन्द्रनगरमा विरोध र्‍याली निकालेका छन् । लाटीकोइली युवा समाजको अगुवाइ र स्थानीयको सहभागितामा आज लाटिकाइलीबाट वीरेन्द्रचोक हुँदै मङ्गलगढीसम्म सरोकारवालाको ध्यानाकर्षण गर्दै दबाबमूलक विरोध र्‍याली निकालिएको हो ।

सडक कालोपत्र सुरु नगरी निर्माण कम्पनी सम्पर्कविहीन भएपछि विरोध र्‍याली निकालिएको समाजका सदस्य थोमस गौतमले बताए। अठार महिनाभित्र सक्ने गरी काम सुरु भए पनि पाँच वर्षसम्म सडक निर्माण नहुँदा विरोध र्‍याली निकालिएको उनको भनाइ छ ।

कालोपत्रको काम बीचैमा छाडेर ठेकेदार भागेपछि धुलोले घरमा बस्न नसकिने अवस्था भएको स्थानीय दिलबहादुर महताराले बताए । सडक स्तरोन्नतिका लागि रु १२ करोड ७६ लाख १५ हजारमा अमर सिस्ने नेपाल मेघा जेभीले ठेक्का पाएको थियो ।