त्रिशूली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका छन्। ‘समृद्धिको लागि सङ्कल्प यात्रा–२०८०’ को क्रममा शनिबार राति नुवाकोट आएका अध्यक्ष ओलीको आज आइतबारसम्मको नुवाकोट बसाईमा ‘सन्देश सभा’ लाई सम्बोधन तथा सरोकारवालासँगको अन्तरक्रियामा दुई छिमेकी राष्ट्र चीन र भारतसहित संसारका सबै देशसँग मित्रवत् व्यवहार अपनाउनुपर्ने बताए।
“हामी असंलग्न परराष्ट्र नीति अपनाउछौँ । कतैतिर ढल्कदैनौँ । कसैको स्वार्थमा कुद्ने छैनौँ । हाम्रो परराष्ट्र नीति स्पष्ट छ ।” उनले भने , “हाम्रा कोही शत्रु छैनन्, सबै मित्र छन् । तर, ती सबै मित्र राष्ट्रबाट मित्रवत व्यवहार पाउनुपर्छ ।”
अध्यक्ष ओलीले पोखरा र लुम्बिनी विमानस्थल आफ्नो अग्रसरतामा चिनियाँ सरकारको सहयोगमा तयार गरेको दाबी गर्दै अहिलेको सरकारले सञ्चालनमा ल्याउन नचाहनु चिनियाँ लगानी निरुत्साहित बनाउन खोजेको होकी भन्ने लागेको गुनासो गरे । पार्टीको केन्द्रीय पदाधिकारीसहित पुष्पलाल (मध्यपहाडी) राजमार्गको स्थलगत भ्रमणमा रहेका अध्यक्ष ओलीले ‘अपेक्षाअनुसार काम नभएको’ भन्दै वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्ने आरोप लगाए । “काम गरेको केही देखिएन । उनले भने, “सरकारको सेवा प्रवाहको अवस्था कमजोर छ भन्ने लागेको थियो । राजमार्गको निर्माणमा भएको ढिलाईले थप पुष्टि भयो ।”
पुष्पलाल (मध्यपहाडी) राजमार्गको पश्चिम नेपालको बैतडीस्थित झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्याङसम्मको भ्रमणमार्फत ‘सम्बन्ध स्थानीयः सन्देश राष्ट्रिय’ दिन नेकपा (एमाले) केन्द्रित रहेको छ ।
बैतडीस्थित झुलाघाटबाट सुरु भएको यात्राको दशौँ दिन शनिबार नुवाकोट आइपुगेको अध्यक्षसहितको केन्द्रीय पदाधिकारीको समूहले जिल्लाको बट्टार र छहरे बजारमा आयोजित सन्देश सभालाई सम्बोधन, सरोकारवालासँग अन्तरक्रिया, भूकम्पले क्षति पु¥याए पश्चात पुनःनिर्माण हुन नसकेको नुवाकोटको सात तले दरबार क्षेत्रको अवलोकनसहित आजै सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको छ ।