मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बजेट बनाउँदा कनिका छर्ने शैलीको अन्त्य गर्न आयोजना बैंकमार्फत विकासको कार्यलाई तीव्रता दिइने बताएका छन् ।
प्रदेश योजना आयोगद्वारा आज आयोजित प्रदेशस्तरीय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण तालिमको उद्घाटन गर्दै आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका उनले प्रदेश बनाउनका लागि यस्तो योजनाका साथ सरकार अघि बढेको बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले कामको गतिलाई तीव्रता दिई जनतालाई विकासको अनुभूति गराएर प्रदेशमा समृद्धि कायम हुने विश्वास व्यक्त गरे । प्रदेश सरकारको उद्देश्य पूरा गर्न कर्मचारीले दबाब र प्रभावमा नपरी कार्य गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिए।
प्रदेश योजना आयोगले वित्तीय अनुशासन कायम गरी बैंकको नीति पालना गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । प्रदेशसभा सदस्यले रु २५ लाखभन्दा कमका योजना बजेटमा समावेश नगर्न अभिमुखीकरण कार्यक्रम गरिने प्रतिबद्धता मुख्यमन्त्री कार्कीको थियो ।