स्वास्थ्य

‘पक्षघातका बिरामी समयमै उपचार गर्न आउँदैनन्’

२ पुस, चितवन । चितवनको भरतपुर अस्पतालबाट झण्डै १० किलोमिटर टाढा जुटपानीका एक पक्षघातको बिरामी नौ महिनासम्म घरमै थलिए । पक्षघात भएका बिरामीले सरकारी भरतपुर अस्पतालमा रु एक लाखसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा आर्थिक अभावमा घरमै थलिनु प¥यो । ती बिरामी मात्रै होइन, अरु धेरै पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचार नै नगरी बस्ने गरेका छन् ।

कतिपय त्यस्ता बिरामी छुट हुने अस्पताल थाहा नपाउँदा महँगा अस्पतालमा उपचार गर्न बाध्य छन् । स्पाइनल उपचारमा विज्ञता हासिल गर्नुभएका भरतपुर अस्पतालका प्रा डा कृष्णप्रसाद पौडेल अस्पतालमा रु एक लाखसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा बिरामी समयमा नआउने गरेको बताउछन् ।

उनले भने,सामान्य अवस्थाका पक्षघातका बिरामीलाई रु एक लाखले सबै खर्च पुग्ने गर्दछ ।” धेरै सामग्री प्रयोग गर्नुपर्ने बिरामीलाई रकम थप लाग्ने भए पनि सामान्य अवस्थामा सबैलाई यही खर्चले धान्ने गर्दछ । प्रा डा पौडेलले भने “पक्षघात भएर कोही पनि घर नबसोस् भन्नका लागि यो सन्देश प्रवाह गर्नु आवश्यक छ ।”

भरतपुर अस्पतालमा २०६९ सालदेखि नै छुट्टै युनिट बनाएर पक्षघातको उपचार हुँदै आएको छ । अहिलेसम्म ३७ जिल्लाबाट आएर यस अस्पतालको स्पाइनल इन्जुरी युनिटबाट उपचार गराइसकेको प्रा डा पौडेलले जानकारी दिए । अस्पतालमा २० श्यया पक्षघातका लागि छुट्याइएको छ । रोटरीको सहयोगमा नयाँ भवन बन्दैछ । भवन सम्पन्न हुँदै गर्दा ५० श्ययाको पक्षघात युनिट हुनेछ । अहिले अस्पतालमा सातामा कम्तीमा एउटा शल्यक्रिया गर्ने गरिएको छ । कुनै हप्ता दुई वटासम्म शल्यक्रिया गर्ने गरिएको उनको भनाइ छ ।

सबै अस्पतालमा पुनःस्थापना केन्द्र नहुने भएकाले बिरामीको रोजाइ भरतपुर अस्पताल पर्ने गर्दछ । प्रा डा पौडेलले भने, “भरतपुर अस्पतालमै यसको पूर्णरुपमा उपचार गर्न सक्छौँ । राज्यले पनि पक्षघात (स्पाइनल कर्ड इन्जुरी) लाई कडा रोगको सूचीमा राखेर रु एकलाखसम्मको उपचार निःशुल्क दिएएको छ ।”

स्पाइनल कर्ड इन्जुरीपछि पुनःस्थापना महत्वपूर्ण हुने उनी बताउछन् । पुनःस्थापना केन्द्रमा दैनिक जीवनयापनका क्रियाकलाप/सीप केन्द्रमा सिकाइन्छ । यदि समयमै उपचारमा जान सके आंशिकरुपमा मात्र स्पाइनल कर्ड इन्जुरी भएको रहेछ भने पूर्ववत्रुपमै फर्काउन सकिने सम्भावना हुने उनको भनाइ छ ।