समाज

व्यवसायलाई नियमन नभएर सहजीकरण गर्न सुझाव’

‘४ पुस, काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले व्यापार व्यवसायलाई नियमन नभएर सहजीकरण गर्न सुझाव दिएको छ ।

आन्तरिक राजस्व विभागको सभाकक्षमा आज आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष विनोदकुमार सेठियाले व्यवसायका लागि सहज वातावरण बनाइदिन आग्रह गरे ।

उनले व्यावसायिक वातावरण सहज बन्दा निजी क्षेत्रले लगानी र कारोबार बढाउने, त्यसबाट व्यवसायीले मुनाफा लिने, सरकारले राजस्व प्राप्त गर्ने र सर्वसाधारणले सेवा र रोजगारीका अवसर पाउने बताए ।

“तर हामीकहाँ सहजीकरणभन्दा नियमनमा जोड दिइएको छ”, अध्यक्ष सेठियाले भने, “यसोगर्दा व्यवसायीले दुःख पाइरहेका छन्, सरकारले पर्याप्तमात्रामा राजस्व सङ्कलन गर्न सकेको छैन, देशले उन्नति गर्न सकेको छैन ।”

कार्यक्रममा समितिका संयोजक विद्याधर मल्लिक, सदस्य प्रा डा रामप्रसाद ज्ञवाली र लक्ष्मण अर्याललगायत अन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयका अधिकारीको उपस्थिति थियो । कार्यक्रममा सङ्घका पदाधिकारी र कार्यसमिति सदस्य पनि सहभागी रहेको थियो ।