६ पुस, झापा । बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमुना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन् । उनले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’ बनाए । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं हालै सो जहाज उडाउँदा छात्र बाँस्कोटाको साथमा नै हुनुहुन्थ्यो । सो अवसरमा अध्यक्ष प्रसाईले बाँस्कोटाको प्रतिभालाई अद्भुत भएको बताए ।
बुद्धशान्ति–१ डुम्रेकोट घर भएका १७ वर्षीय बाँस्कोटाले उडाएको हवाईजहाज नेपाल एयरलायन्सको प्रतिलिपिजस्तो देखिन्छ । जहाजमा मेकानिकल र इलेक्ट्रिकल प्रविधिको संयोजन गरिएको उनले बताए । धावनमार्गमा झैँ दगुरेर उडेको जहाज २० मिनेटसम्म आकाशमा फन्को मारेर ओर्लिएको थियो । जहाजलाई बाँस्कोटाले भुइँबाट रिमोटमार्फत नियन्त्रण गरेका थिए । खेर गइरहेको टिनको पाता, फलामको टुक्राटुक्री, प्लास्टिक र तार प्रयोग गरेर बनाइएको जहाज दुई दिनअघि गाउँपालिका परिसरमा उडाउँदा सयौँ दर्शक रोमाञ्चित बनेका थिए ।
गाउँपालिकाको बैठक बसेर प्रतिभाशाली विद्यार्थी बाँस्कोटालाई आर्थिक सहयोग गर्ने पालिकाका अध्यक्ष प्रसाईंले प्रतिबद्धता व्यक्त गरे । छात्र बाँस्कोटाले तीनवटा जहाजको नमूना र अन्य वैज्ञानिक उपकरण निर्माण गरेका छन् । बनाएका सामानले उनको घरको कोठाहरु भरिएका छन् । बनाएका जहाजहरुलाई उनले नेपाल एयरलायन्स, तारा एयरलायन्स र ग्रेटर नेपाल नाम दिएका छन् । अन्य उपकरणमा बिजुली साइकल, पाइप एसी, गल्र्स सेफ्टी, इन्फ्रारेड धारा, रोबोट, सोलार चार्जरलगायत छन् । गरिब परिवारमा जन्मेका छात्र बाँस्कोटाले घरमै अध्ययन र अभ्यास गरेर वैज्ञानिक उपकरण बनाउने गरेका जनाइएको छ ।
“सानैदेखि विज्ञान सामग्री बनाउनेमा चाख थियो,” उनले भने, “सुरुसुरुमा आमाबुबाले गाली गरे पनि अहिले सहयोग गरे । आर्थिक स्रोत हुने हो भने अझ धेरै ठुलाठुला उपकरण बनाउन सक्नेथिएँ ।” एउटा हवाईजहाज बनाउन रु ६५ हजार खर्च भएको उनले बताए । भर्खर कक्षा १० मा पढ्दै गरेको विद्यार्थीमा विज्ञान उपकरण निर्माणमा यतिधेरै चाख र क्षमता भएको देखेर आश्चर्य लागेको बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेले बताए । “एउटा सानो भाइमा यस्तो प्रतिभा हुनु सामान्य हुँदैहोइन,” उनले भने, “हौसला र आर्थिक स्रोत हुने हो भने दुनियाँलाई छक्क पारेर देखाउने क्षमता रहेछ । उनले हामी सबैका अगाडि हवाईजहाजलगायत उपकरणहरु प्रदर्शनी गरेर देखाए ।”
सबिनकी आमा चेलीमायाले गहना र गाईबाख्रा बेचेर उपकरण बनाउन सहयोग गरेको बताइएन् । विद्यालय जाँदा खाजा खान दिएको रु २० पनि बचत गरेर रु चार हजार बनाएको देखेपछि छोरोको चाहना पुरा गर्न आफूले गहना बेचेको उनले बताए । सानैदेखि तीक्ष्ण दिमागको सबिनमा घरका रेडियो र ब्याट्री खोलेर जोड्न रमाउने चकचके स्वभाव थियो । चेलीमायाका अनुसार नयाँ किनेर ल्याएका रेडियो, टर्च लाइट र मोबाइल उपकरण सबै बिगार्ने र बनाउने गरेर सबिनले सुरुमा घरमा हैरानी दिने गरेका थिए । “असाध्यै चुलबुले र तेज दिमागवाला थियो”, दुःख गरेर कमाएको पैसाले ल्याएको सामान भत्काएर हैरान नै पाथ्र्यो ।” तर, अहिले हवाईजहाज समेत बनाएर उडाउन थालेपछि परिवारका सबै खुशी छन् ।
सबिनले बनाएको अर्को सामान बिजुली साइकल हो । चलिरहेको पाइडल साइकलमा उहाँले आफूद्वारा निर्मित ब्याट्री जोडेका छन् । उक्त ब्याट्री चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि साइकललाई दिनभरि कुदाउन सकिने उनको दाबी छ । बिजुली साइकल बनाउन रु २० हजार खर्च भएको छ । बिग्रेको चार्जर र एडप्टर जोडेर ‘गल्र्स सेफ्टी’ नामको नयाँ डिभाइस उनले बनाएका छन् । जसले कुनै पनि युवतीलाई दुव्र्यवहार भएमा बिजुलीको करेन्ट प्रवाह गरिदिने उनको दाबी छ । डिभाइसका कारण दुव्र्यवहारबाट जोगाउने उपकरण भएकाले यसको नाम ‘गल्र्स सेफ्टी’ राखिएको रहेछ ।
‘भ्वाइस कमान्ड’ बाट चल्ने रोबोट र बमबार्ड गर्ने ड्रोन बनाउन सक्ने उनको दाबी छ । एउटा रोबोट निर्माण अन्तिम चरणमा छ । कोठाभरि चिसो बाफ फ्याँक्ने इलेक्ट्रोनिक डिभाइस उनले बनाएर प्रदर्शन समेत गरेका छन् । ‘पाइप एसी’ नाम दिइएको उक्त डिभाइस बिजुलीबाट चल्छ । मिहनेत र खर्चले यस्ता उपकरण बनाउने सबिनले भविष्यमा धेरै पढेर मेकानिकल इन्जिनियर बन्ने सपना साँचेका छन् । “आठ महिना लाग्यो । कैयौँपटक बनाउँदै भत्काउँदै गर्दा मात्र यो सम्भव भएको हो”, उनले भने, “सामान किन्न धेरै पैसा चाहिन्थ्यो । त्यो सबै मेरी आमाले गाई, बाख्रा र गहना बेचेर पुर्याउनुभयो ।”
पाँचथरको हिलिहाङमा जन्मेका सबिनलाई उनका बुबा कृष्णले राम्रो शिक्षा दिने उद्देश्यले सात वर्षअघि पहाडबाट मधेसको झापा ल्याएर पढाउन थालेका थिए । मधेसमा बाँस्कोटा परिवारको दुई कट्ठा घडेरीमात्र छ । उक्त जग्गामा टिनको छानो र बाँसको भाटाले बारेको एउटा घर छ । बुबाआमाले अर्कैको खेतबारी अधिया–ठेक्कामा लिएर परिवारको जीविका चलाउँदै आएका छन् ।
आर्थिक स्रोत नभएकाले छोरालाई खासै सहयोग पु¥याउन नसकेको वुबा कृष्ण बताए । घरमा वाइफाई नभएका कारण सबिन गाउँको वाइफाइमा गएर मोबाइल चलाउने गर्छन् । “यति धेरै विज्ञानका सामान बनाउने छोरोलाई सहयोग नगरौँ भन्ने त मनमा हुँदैन नि,” मनको बह पोख्दै उनले भने, “घरमा वाइफाई जोडिदिन सकेको छैन । एउटा राम्रो मोबाइल पनि किनिदिन सकेको छैन् ।”