समाचार

राजनीतिक धुव्रीकरण आवश्यक छ : एमाले महासचिव पोखरेल

७ पुस, काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक धुव्रीकरण आवश्यक रहेको बताएका छन् ।

ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व ध्रुवीकरण हुनुपर्ने बताए ।

“देश बनाउने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ”, महासचिव पोखरेलले भने । उनले जनताले विकास र परिवर्तन खोजेको भन्दै देशको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको दाबी गरे ।

महासचिव पोखरेलले भन्नुभयो, “देश जोगाउने र स्वाधिनता बलियो बनाउने हो भने एमाले रोज्नुपर्छ ।” मुलुकलाई नीतिगत पथमा डोर्याउन नसकेसम्म लोकतन्त्र सही बाटोमा जान नसक्ने उनको भनाइ छ ।

महासचिव पोखरेलले मुलुकलाई अगाडि बढाउन आर्थिक, सामाजिक विकास र रुपान्तरणको कामलाई तीव्रता दिनुपर्ने बताए ।