खेलकुद

क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगितामा आर्मी र पुलिस क्लब विजयी

११ पुस, पर्सा । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज नेपाल आर्मी क्लब नेपाल पुलिस क्लब विजयी भएको छ ।

वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल आर्मी क्लबले एपिएफ क्लबलाई २६ रनले स्तब्ध पार्दा दोस्रो खेलमा नेपाल पुलिस क्लबले भारतको वान्डर्स क्लब नोइडालाई ६ विकेट पराजित गरेको छ । पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १४ रनको योगफल जोडेको थियो ।

आर्मीका सन्तोष कार्कीले ३२ रन, कुशल मल्लले २२ रन, सन्दीप रजाली १६ र विनोद भण्डारी १० रनको योगदान दिनुभयो । एपिएफका अमर रटौलाले ५ विकेट, हरिशङ्कर साहले २ विकेट तथा अविनाश बोहराले १ विकेट हात पारे ।

एक सय १५ रनको विजयी लक्ष्य लिइ मैदानमा उत्रेको एपिएफले १९ ओभरमा सम्पूर्ण बिकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो । एपिएफका प्रदीप ऐरीले २९ रन, लोकेश बलमे १६ रन, आशिफ शेखले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडी दोहोर अङ्क बनाउन सकेनन् ।

आर्मी कुशल मल्लले ५ विकेट तथा सोमपाल कामी, विवेक यादव, सहाव आलम, बसिर अहमद र अविनाश कर्णले समान १/१ विकेट लिए । प्रतियोगिताको म्यान अफ द म्याच आर्मीका कुशल मल्ल घोषित भएका छन् ।

यसैगरी आज दिउँसो भएको दोस्रो खेलमा टस जितेर पुलिस क्लबले पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गर्न उत्रेको भारतको नोयडा क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८५ रनको योगफल जोडेको थियो ।

नोयडाका हर्षित सेठीले ३५ रन, तरुण विष्टले १५ रन र उजर मल्लिकले १३ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । पुलिसका ललित राजवंशी र रसिद खानले २/२ विकेट तथा शेर मल्ल र सागर ढकाले १÷१ विकेट लिए । ८६ रनको विजयी लक्ष्य लिएर ब्याटिङ गरेको पुलिसले १२ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । पुलिसका शङ्कर राणाले अविजित ३८ रन तथा रसिद खानले ३१ रनको योगदान दिए ।

नोयडा क्लबका सञ्जीव चतुर्वेदीले २ विकेट तथा दक्ष र हर्षित सेठीले समान १/१ विकेट लिनुभयो । सो प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका रसिद खान घोषित भए ।

नारायणी रङ्गशाला पुनःनिर्माणतर्फ तीनवटै तहको सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र यूपी–११ गरी ६ टिमको सहभागिता रहेको प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिए । प्रतियोगिता पुस ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने म्यानेजर अन्सारीले बताए ।