११ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले अपराधमा नयाँ शैली प्रयोग हुन थालेकाले अनुसन्धान प्रक्रिया पनि समयसापेक्ष बनाउनुपर्ने बताए ।
नेपाल प्रहरीद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा मन्त्री भट्टले विकासको क्रमसँगै देखिने नयाँ शैलीका अपराधका घटनाले समाजमा चुनौती थपिरहेकाले अनुसन्धानलाई पनि समयसापेक्ष बनाउनुपर्ने बताए ।
अपराध अनुसन्धान कार्य सशक्त बनाउन गर्नुपर्ने सहयोगका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले भने, “प्रदेशसभाले बनाएको प्रदेश प्रहरी ऐनको अहिलेसम्म पनि कार्यान्वयन नभइरहँदा विभिन्न समस्या महसुस भइरहेको छ ।”
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अपराधका घटना हुन नदिन पूर्वतयारी गरेर योजनाबद्ध ढङ्गले काम गर्न निर्देशन दिए । उनले अनुसन्धान गर्दा कसैको दबाबमा नपरी निष्पक्ष ढङ्गले विवेक पु¥याएर काम गर्न पनि निर्देशन दिए ।
उच्च अदालत दीपायलका न्यायाधीश दिनेशप्रसाद यादवले अपराध अनुसन्धान गर्दा संविधानले ग्यारेन्टी गरेका नागरिकका अधिकारका विषयमा ख्याल गर्न सुझाव दिए । सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले अपराध अनुसन्धानको कार्यलाई समयसापेक्ष सुधार र परिष्कृत गर्दै लैजान जरुरी भइसकेको बताए ।
अपराध अनुसन्धानका क्रममा देखिने समस्या र तिनको समाधानका उपायका बारेमा छलफल भएको समीक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अपराध अनुसन्धानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज विष्टले प्रदेशको अपराधका घटना र अनुुसन्धानको पाटोका बारेमा प्रकाश परेका थिए ।
प्रविधिको बढ्दो प्रयोग र भौतिक विकासको प्रभावस्वरुप अपराध, अपराधीको प्रवृत्ति र प्रकृतिमा नवीन चुनौती थपिँदै गएको प्रहरी अधिकारीको भनाइ छ । अधिकांश आपराधिक घटना आफन्त, छिमेकी, नातागोताबाट घटाउने गरिएको पाइएकाले यस्तो अवस्थामा परिवारभित्रैकै रक्षकमाथि पनि शङ्काको नजरले अनुसन्धान बढाउनुपर्ने देखिएको उनीहरुको भनाइ छ । विगतका तुलनामा प्रदेशमा अपराधका घटना वृद्धि भएको पाइएको छ । सबैभन्दा बढी लागुऔषधका कारण हुने अपराध ६२ प्रतिशतले बढेको प्रहरीको तथ्याङ्क छ ।
यसैबीच धनगढी उपमहानगरपालिका–१४ मा नवनिर्मित भवनमा आसारा नामको सुधार केन्द्र आज सञ्चालनमा आएको छ । प्रहरी महानिरीक्षक कुँवरले उक्त भवनको उद्घाटन गरे । लागुऔषधको कुलतमा फसेकाको कुलत हटाई पुनःस्थापना गर्नका लागि यो भवन निर्माण गरिएको हो ।
धनगढी उपमहानगरपालिका, बेलौरी नगरपालिका र कैलारी गाउँपालिकाको संयक्त सहयोगमा निर्माण भएको उक्त केन्द्र झण्डै एकसय जना अटाउनसक्ने क्षमताका रहेकोे छ ।