१३ पुस, कञ्चनपुर । सुदूरपश्चिम वन निर्देशनालयका निर्देशक हेमराज विष्टले सामुदायिक वनका उपभोक्ताको चाहना अनुसार दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।
शुक्लाफाँटा नगरपालिका–८ स्थित भगवती सामुदायिक वन उपभोक्ता समूहको २१ औँ वार्षिक साधारणसभामा उनले उपभोक्तालाई सुसूचित नगरिकन कार्यक्रम सञ्चालन नगरिने बताए ।
“सुदूरपश्चिम प्रदेश सरकारको चालु आवको नीति तथा कार्यक्रममा दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता गरिएको थियो”, विष्टले भन्नुभयो, “सोहीअनुरुप कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाउने तयारी भइरहेको छ ।” कार्यविधि निर्माण भएपछि आगामी आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन हुने उनको भनाइ थियो ।
कार्यक्रम लागू भएपछि सामुदायिक वनलाई व्यवस्थित गरी वनपैदावारमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको विष्टले बताए । विदेशबाट आयत हुने काठलाई विस्थापित गर्न कार्यक्रमले सघाउ पु¥याउने उनले विश्वास व्यक्त गरे ।
सडक छेउमा सुकेका रुख हटाउन कानुनी अड्चन रहेको चर्चा गर्दै वन निर्देशनालयका निर्देशक विष्टले मन्त्रिपरिषद्को निर्णय विना सडक छेउका रुख हटाउन नसकिने बताए । “प्रधानमन्त्रीले वन ऐनलाई खुकुलो बनाउन संशोधन गरिने कुरा राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा बोल्नुभएको छ”, उनले भने, “ऐन संशोधन भएर आएपछि मात्रै देखिँदै आएका कानुनी अड्चन हट्न सक्छन् ।”
सामुदायिक वनले जनजाँगरणका साथै विकास, सामाजिक कार्यमा महत्त्वपूर्ण योगदान पु¥याएको विष्टले बताए । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबारे सम्बन्धित पक्षलाई बुझाउन नसक्दा यसको कार्यान्वयन अड्चन आएको उनको भनाइ थियो ।