समाचार

डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विवाद समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

१३ पुस काठमान्डौैं । नेपाल उद्योग परिसङ्घसहित प्रभावित उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्कलाइन विवादका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा प्रभावित उद्योगीहरुले प्रधानमन्त्रीसँग आज छलफल गरेका हुन् । उनीहरूले कानुनी व्यवस्थाअनुरुप विवाद समाधान गर्न आग्रह गरेका छन् ।

परिसङ्घले विद्युत् भार कटौतीको समयमा प्राधिकरणको विद्युत् डेडीकेटेड फिडर तथा ट्रङ्क लाइनबाट उपभोग गरी उद्योग प्रतिष्ठान सञ्चालन गरेको भनिएका उद्योगहरुको मिटरको विवरण सार्वजनिक गर्न अनुरोध गरेको छ ।

परिसङ्घ अध्यक्ष अग्रवालले प्राधिकरणले जारी गर्ने नियमित बिजकअनुसारको महशुल उद्योगीहरूले भुक्तान गरिरहेका र प्राधिकरणले समयमै बिल भुक्तानी बापत उपलब्ध गराउने ‘इन्सेन्टिभ’समेत लिइ रहेको बताए । उद्योगहरूले भुक्तान नगरेको भनिएको रकम डेडीकेटेड फिडर वा ट्रङ्कलाईन वापतको प्रिमियम मात्र भएको उनले प्रधानमन्त्रीलाई अवगत गराएको परिसङ्घले जनाएको छ ।

प्रधानमन्त्रीले सकारात्मक ढङ्गले समस्याको समाधान निकाल्नुपर्नेमा जोड दिएको थियो । प्रयोग भएको बिजुलीको महशुल तिर्नुपर्ने प्रधानमन्त्रीले बताए परिसङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै उहाँले सम्बन्धित निकायसँग छलफल गरी उचित निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।


छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, परिसङ्घका उपाध्यक्ष अमित मोरलगायत उद्योगीहरु सहभागी रहेका थिए ।