१४ पुस, बैतडी । सुदूरपश्मिमा भएको प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट अर्थात इलाइट च्याम्पियनसिपको खेलमा बैतडीले विजयी सुरूवात गरेको छ । बैतडीले बझाङमाथि एक सय ८१ रनको विशाल जित निकाल्यो । जितका दुई सय ८१ रनको लक्ष्य पन्छाएको बझाङ १७ दशमलव पाँच ओभरमा ९९ रनमा अलआउट भयो ।
बझाङका लागि सनम बुढाथोकीले सर्वाधिक २६ रन बनाए । बैतडीका कप्तान रिसिकेश बोहराले ४, हिक्मत महराले ३, सन्तोष चन्दले २ विकेट लिए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनायो । उसका लागि प्रदीपचन्द र आयुश चन्दले अर्धशतक बनाए । प्रदीप ८३ र आयुश ५९ रनमा आउट भए ।
बझाङका लागि कप्तान सञ्जय बोहरा र अभिनाश सिंहले २/२ विकेट हात पारे । बैतडीका प्रदीपचन्द खेलका म्यान अफ द म्याच चुनिए । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियोे ।
प्रादेशिक क्रिकेट सङ्घले यस वर्षदेखि प्लेट र इलाइट च्याम्पियनसीप गरेर दुई चरणमा प्रदेश छनोट गरिररहेको छ । गत वर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसीप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसीप खेलेका हुन् ।