समाचार

वातावरण सुधारमा कुनै सम्झौता हुँदैन : महानगरप्रमुख महर्जन

१४ पुस, ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वातावरण सुधारका लागि गर्नुपर्ने विषयमा कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २८ वर्ष पूरा गरेको अवसरमा आज आयोजित वार्षिकोत्सवमा प्रमुख महर्जनले प्रकृतिसँग रमाउने चराचुरुङ्गी तथा प्राणीलाई सुखका साथ राख्नका लागि अनुकूल वातावरण कायम राख्नका साथै वातावरणीय सुधारका काममा कसैसँग सम्झौता नगर्ने उल्लेख गरे ।

“सदर चिडियाखाना ललितपुर महानगरपालिकामा हुनु हाम्रो लागि वरदान सावित भएको छ । यो हाम्रो लागि खुसीको कुरा हो, यहाँ संरक्षित प्राणीलाई सुखका साथ राख्न के गर्नुपर्छ सबै गर्छौँं, यसका लागि महानगरपालिका सर्वदा तयार छ । प्रकृतिसँग रम्ने जीव, चराचुरुङ्गी तथा हरेक प्राणीको सहज हुने गरी वातावरणीय सुधारका लागि गर्नुपर्ने कुरामा सम्झौता गर्दैनौँं”, महर्जनले भने ।

प्रमुख महर्जनले चिडियाखानाको अगाडिको जावलाखेल चोकमा ‘टाइगर गेट’ बन्ने क्रममा रहेको बताउँदै त्यसले पर्यटकलाई यहाँ घुम्न आउन प्रेरित गर्ने बताए । उनले चिडियाखानाभित्र अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई घुमाउनका लागि ‘सटल बस’ सञ्चालन गर्न ‘क्याटलक सपिङ’को तयारी भइरहेको जानकारी दिए ।

नगरप्रमुख महर्जनले चिडियाखानाभित्र रहेको ठूलो पोखरीका कारण वडा नं ४ का इकुहिटीमा अनवसर पानी झर्ने गरेको बताउँदै यहाँको पोखरी संरक्षणका लागि केही योजना बनाउन सुझाव राखे ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ््गाना राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापकीय जिम्मेवारीमा रहेर गरेको काम उच्च रहेको धारणा राखे । उनले अहिले देशभित्र विगतको तुलनामा वन्यजन्तुको सङ्ख्या बढेको र दश वर्षमा बाघको सङ्ख्या तीन गुणा बढेको बताए ।

ढुङ्गानाले वन्यजन्तुको सङ्ख्या बढेपनि उनीहरुको सुरक्षित बासस्थान बढाउन सकिएको छैन भन्ने धारणा राख्नुभयो । वन्यजन्तु संरक्षण गर्ने सरकारको नीति अनुसार सात वटा प्रदेशमा प्राणी उद्यान बनाउने कार्यक्रम भए पनि कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । उहाँले सदर चिडियाखानाको व्यवस्थापनमा अझै सुधार गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले आफ्ना परिवारलाई घुमाउन जुद्धशमशेरले स्थापना गरेको सदर चिडियाखानाको व्यवस्थापन सन् १९९५ मा नेपाल सरकारले प्रकृति संरक्षण कोषलाई व्यवस्थापनको जिम्मा दिएको जानकारी गराए । अहिले छ हेक्टर जमिनमा सीमित रहेको सदर चिडियाखानालाई सूर्य विनायकमा एक सय ५० हेक्टर जमिनमा व्यवस्थापन गर्न पाए संरक्षित वन्यजन्तुको व्यवस्थापनका लागि सहज हुने उनको भनाइ थियो ।

डा ओलीले एउटा बाघ संरक्षणका लागि मात्रै वर्षमा रु १५ लाख खर्च हुने जानकारी गराउँदै बाहिर दुःख दिने वन्यजन्तुलाई पनि यहाँ ल्याएर संरक्षण गरिरहेको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले वन्यजन्तु संरक्षणका क्षेत्रमा सदर चिडियाखानाको स्थापनादेखि हालसम्म हासिल गरेका उपलब्धि महत्वपूर्ण रहेको बताउँदै यसले वन्यजन्तु संरक्षणमा व्यवस्थित ढङ्गबाट महत्वपूर्ण काम गरिरहेको, वन्यजन्तु तथा प्रकृति संरक्षण क्षेत्रका हरेका कामलाई प्रभावकारी ढङ्गले काम गर्ने गरेको बताए ।

उनले चिडियाखानालाई महानगरबाट अत्यन्तै कठिन परिस्थितिमा महत्वपूर्ण सहयोग गरेको र हालसम्म पनि निरन्तर सहयोग प्राप्त भइरहेको बताएका छन् ।