कृषि

जुम्लामा परम्परागत बालीको बजारीकरण गरिँदै

१९ पुस, जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा मुख्य कार्यालय रहेको चन्दनाथ सहकारीद्धारा सञ्चालित चन्दनाथ अर्गानिक मिनिमार्केटले कर्णालीमा उत्पादन हुने परम्परागत बालीको बजारीकरण गर्दै आएको छ ।

जुम्लासहित मुगु, डोल्पा, हुम्ला, कालिकोटमा उत्पादन हुने परम्परागत बाली सिमि, फापर, मार्सी चामल, चिनो, कागुनो, स्याउको अर्गानिक मिनिमार्केट मार्फत बजारीकरण गरी बिक्री गरिँदै आएको चन्दननाथ अर्गानिक मिनिमार्केटका सञ्चालक ऋषिराम पाण्डेले जानकारी दिए । कर्णाली प्रदेशको सुर्खेतमा मिनिमार्केट सञ्चालन गरेर परम्परागत बालीको बजारीकरण गरिँदै आएको छ ।

सञ्चालक पाण्डेले भने, “कृषकको अर्गानिक उत्पादन खरिदसहित हरियो मल कम्पनीकै मुल्यमा बिक्री गरिँदै आएको छ, बजारमा प्रतिकिलो १ सयमा बिक्री हुने हरियो मल सहकारीले ६५ रुपयाँ मै कम्पनीकै मुल्यमा बिक्री गरिँदै आएको छ ।” यो यायमा स्याउ काँटछाट, मलजल बगैँचा व्यवस्थापन गर्न सुरु भएकाले चितवनबाट ल्याएर हरियो मल बिक्री गरिँदै आएको मिनिमार्केटका सञ्चालक पाण्डेको भनाइ छ ।

सहकारीले कम्पनीकै मूल्यमा बिक्री गर्ने गरी १८ टन मल जुम्ला ल्याएको छ । जुम्लाका १४ सेवा केन्द्रमार्फत बिक्रीवितरण गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । सहकारीले १५ लाख ६७ हजार सात सयमा खरिद गरी १८ टन बायो अल्गा हरियो मल ल्याएको हो ।

नेपालका बजारमा ठूलो मात्रामा बिक्री वितरण हुने मार्सी धान बलाष्ट रोगले नष्ट हुने र उत्पादन निकै घट्ने भएकाले सहकारीले माघमा माटो परीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।