२९ पुस, काठमाडौं । माघे संक्रान्तिदेखि उपत्यकामा मेलम्चीको पानी वितरण हुने भएको छ । बिहीबारदेखि सुरुङमा पानी छोडिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए ।गत साउनमा मेलम्ची नदीमा आएको बाढीका कारण अनिश्चित भएको मेलम्चीको पानी पुनः वितरण गर्ने गरी काम भइरहेको हो ।
बाढीका कारण बालुवा, माटो पसेको सुरुङको हाल सफाइ भइरहेको छ । शुक्रबार रातिसम्म सुरुङ सफाइको काम सकिने र १ माघबाट वितरण हुने समितिले जनाएको छ । ‘१ माघमा पानी वितरण हुने गरी काम गरिरहेका छौँ,’ प्रवक्ता पन्तले भने, ‘अहिले सुरुङ सफा गर्ने काम भइरहेको छ ।
हिजो छोडिएको पानी सुन्दरीजल नै आइपुगिसकेको छ । तर, सुरुङ सफाइको काम भइरहेको छ । सफा हुनेबित्तिकै सुरुङमा पानी हालेर भर्छौँ ।’ समितिका अनुसार २८ पुसमा सुरुङ सफाइको काम सकिएर पानी भरिनेछ । २९ पुसमा बाँकी सबै काम हुनेछ । र, १ माघमा पानी वितरणका लागि तयारी हुनेछ ।
उपत्कामा मेलम्ची ल्याउनका लागि खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा ३ पुसमा बसेको बैठकले आकस्मिक परिस्थित बाहेक २८ दिनको कार्यतालिका बनाएर काम गरेको थियो ।
समयमै काम सम्पन्न गर्न दुई सिफ्टमा जनशक्ति परिचालन भएको थियो । सोही दिन निर्माण व्यवसायी सिनो हाइड्रोले तत्काल काम सुरु गर्ने गरी सम्झौता भएको थियो । सिनो हाइड्रोले काम गरे पनि लागतबारे भने अझै निक्र्योल नभएको समितिले जनाएको छ । ‘हाल लागतबारे निक्र्योल भइसकेको छैन । नाँपजाँचको काम भइरहेको छ । ती काम सम्पन्न भइसकेपछि भुक्तानी हुनेछ,’ प्रवक्ता पन्तले भने ।
हाल उपत्यकामा ४० करोड लिटर पानीको माग छ । तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले हाल दैनिक १२ करोड लिटर पानी वितरण गर्दै आएको छ ।